पोखरा, २१ मंसिर। नेपाली कांग्रेसको कोशी प्रदेश कार्यसमितिले मंसिर २२ गते विराटनगरमा आयोजना गर्न लागेको प्रदेशस्तरीय भेलाको तयारी भइरहँदा कांग्रेस इतर समूहले शक्ति प्रदर्शन गरेको छ। इतर समूहले मंसिर १८ मा विराटनगरमा पालिकास्तरीय भेला गर्दै आफ्नो पकड देखाउने प्रयास गरेको हो।

कांग्रेस केन्द्रीय कार्यालयले मंसिर २२ गतेको कार्यक्रमअघि कुनै पनि अन्य गतिविधि नगर्न कोशी प्रदेश कार्यसमितिलाई निर्देशन दिएको थियो। मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा हस्ताक्षरित पत्रमा, “सम्मेलनपूर्व कुनै पनि कार्यक्रम नरहेको जानकारी प्रदेशअन्तर्गत रहेका सबै पालिकाहरूमा दिनुहोस्,” भनिएको थियो। यद्यपि, इतर समूहले आफ्नो कार्यक्रम पूर्वनिर्धारित भएको दाबी गर्दै पालिकास्तरीय भेला सम्पन्न गर्‍यो।

भेलाको प्रमुख आतिथ्य केन्द्रीय सदस्य डा. शेखर कोइरालाले गरेका थिए। इतर समूहका अनुसार, उक्त कार्यक्रममा कोशी प्रदेशका १३७ पालिकामध्ये ११३ पालिकाका सभापति सहभागी थिए। विराटनगर महानगरपालिका सभापति दीपक चापागाईंले केही सभापतिहरू कार्यव्यस्तता वा व्यक्तिगत समस्याका कारण अनुपस्थित रहेको जानकारी दिए। उनले भने, “सबै सभापतिहरूलाई बोलाइएको थियो, तर केही अनुपस्थित हुनुभयो।”

चपागाईंले यस कार्यक्रम रोक्नका लागि केन्द्रले पठाएको पत्रलाई औपचारिकता मात्रै भएको टिप्पणी गरे। उनले भने, “पत्रमा कार्यक्रम स्थगित गर्नु भन्ने उल्लेख थिएन। दशैंदेखि तयारी गरिएको कार्यक्रम शेखर दाइको समय नमिलेर केही दिन तलमाथि भएको हो।”

पालिकास्तरीय भेलामा डा. शेखर कोइरालासहित केन्द्रीय सदस्यहरू डा. मीनेन्द्र रिजाल, सरिता प्रसाईं, किरण यादव, राजीव कोइराला, डा. चन्द्रमोहन यादव, र रुक्मिणी कोइराला सहभागी थिए। यस्तै, कोशी प्रदेशका महामन्त्री उमेश थापा, पूर्वकेन्द्रीय सदस्यहरू गुरु घिमिरे, रामकृष्ण भट्टराई र हसन अन्सारी, र विभिन्न जिल्लाका सभापतिहरू पनि उपस्थित थिए।

चपागाईंले यो कार्यक्रम कांग्रेसभित्रको कुनै पक्षको नभई पार्टीको आधिकारिक कार्यक्रम भएको दाबी गरे। उनले भने, “इतर समूहको कार्यक्रम भनेको भए सबै पालिका सभापतिहरू इतर समूहमा छन् भन्ने अर्थ लाग्थ्यो। यो कांग्रेसको कार्यक्रम हो।”

भेलाको उद्देश्यबारे चपागाईंले भने, “महाधिवेशन समयमै गरिनुपर्छ भन्ने हाम्रो पहिलो सन्देश हो। पार्टीलाई बलियो बनाउन र संगठनलाई सुदृढ गर्न निर्धारित समयमा महाधिवेशन हुनु आवश्यक छ। दोस्रो, पालिकास्तरीय सभापतिहरूको हक–अधिकार सुरक्षित गरिनुपर्छ। कांग्रेसका घोषणा पत्रअनुसार कार्यान्वयनका लागि पालिका सभापतिहरू र जनप्रतिनिधिहरूबीच समन्वय आवश्यक छ।”

शेखर समूहको यो भेला कांग्रेसभित्रको शक्ति प्रदर्शनको रूपमा हेरिएको छ। एक नेताका अनुसार, “प्रदेश भेला नजिकिँदै गर्दा इतर समूहले रियाक्सनका रूपमा पालिकास्तरीय भेला आयोजना गर्‍यो। कोशी प्रदेश शेखर कोइरालाको होम ग्राउन्ड भएकाले शक्ति प्रदर्शनका लागि यस्तो कार्यक्रम गरिएको हो।”

शेखर समूहको यो कार्यक्रमले कांग्रेसभित्रको आन्तरिक विवाद र विभाजनलाई झल्काएको छ। यसले आगामी मंसिर २२ मा हुने कोशी प्रदेशस्तरीय भेलामा नयाँ मोड ल्याउने अपेक्षा गरिएको छ।

(स्रोत: खबरहब)

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0