पोखरा, २१ मंसिर। उपराष्ट्रपति रामसहायप्रसाद यादवले ‘विवाह पञ्चमी’ पर्वले समाजमा प्रेम, आदर, सद्भाव र नैतिक मूल्यहरूको प्रवर्द्धन गर्दै सामाजिक र राष्ट्रिय एकतालाई सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन्। स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई सुख, शान्ति र समृद्धिको शुभकामना दिँदै उनले यो पर्वले सम्पूर्ण जाति र समुदायलाई एकताको सूत्रमा बाँध्ने अवसर प्रदान गर्ने बताएका छन्।
उपराष्ट्रपति यादवले भगवान् श्रीराम र माता सीताको दिव्य विवाहको स्मरण गर्दै विवाह पञ्चमीले प्रेम, आदर र विश्वासका आदर्शलाई उजागर गर्ने उल्लेख गरे। परापूर्वकालदेखि यो पर्वको धार्मिक, सांस्कृतिक र सामाजिक महत्व रहँदै आएको छ। विशेषगरी मधेश प्रदेशको जनकपुरधाममा साताव्यापी महोत्सवका रूपमा मनाइने यो पर्व ‘नगरदर्शन’ बाट सुरु भई ‘फूलबारी लीला’, ‘धनुष यज्ञ’, ‘तिलकोत्सव’, ‘मटकोर’ र ‘राम–सीताको स्वयंवर–विवाह’ अनुष्ठानमार्फत सम्पन्न हुने परम्परा छ। अन्तिम दिन ‘रामकलेवा’ समारोहले महोत्सवको समापन गरिन्छ।
जनविश्वासअनुसार विवाह पञ्चमीका अनुष्ठानहरूले समाजमा सुख, शान्ति र समृद्धि ल्याउने विश्वास छ। यस अवसरमा रामायणका पाठ, लोकगीत, लोकनृत्य र परम्परागत झाँकीहरूले मौलिक संस्कृतिलाई जीवन्त राख्न योगदान पुर्याउँछन्। उपराष्ट्रपति यादवले यो पर्वलाई सत्य, सदाचार र नैतिकता प्रवर्द्धन गर्ने अवसरका रूपमा लिनुपर्ने आवश्यकता औंल्याए।
उनले भने, ‘त्रेतायुगको राम–सीताको विवाह सम्झनास्वरूप जनकपुरधाममा प्रतीकात्मक विवाह गराउने परम्पराले नेपाल–भारतबीचको ऐतिहासिक, सांस्कृतिक र धार्मिक सम्बन्धलाई थप प्रगाढ बनाएको छ। अयोध्याबाट सन्त महन्थहरूसहित जन्ती जनकपुरधाम आउँदा नेपाल र भारतबीचको रोटीबेटी सम्बन्ध अझ बलियो बन्ने विश्वास छ।’
उपराष्ट्रपति यादवले विवाह पञ्चमीलाई नैतिक शिक्षा र जीवन मूल्यहरूलाई जन–जनसम्म पुर्याउने महत्त्वपूर्ण अवसरका रूपमा लिने आग्रह गरेका छन्। यो पर्वले हाम्रो सांस्कृतिक सम्पदाको संरक्षण र समृद्धिमा योगदान पुर्याउने उनको विश्वास छ।





























