सोल, २१ मंसिर।  दक्षिण कोरियाका मुख्य राजनीतिक दलहरूले राष्ट्रपति युन सुक योललाई महाभियोग लगाउने प्रस्ताव अघि बढाउने तयारीमा आपतकालीन बैठकहरू गरिरहेका छन्। विपक्षी डेमोक्रेटिक पार्टीले यो प्रस्ताव शनिवारका लागि तालिका गरिएको भए पनि संसदमा आवश्यक बहुमत जुट्नासाथै पारित गर्न सकिने संकेत दिएको छ।

बिबिसीका अनुसार, सत्तारूढ पिपुल पावर पार्टी (पीपीपी) का प्रमुख हान डोङ हुनले यसअघि विपक्षीको महाभियोग प्रस्तावमा आफ्नो पार्टीको समर्थन नहुने बताएका थिए। तर, शुक्रबार उनले राष्ट्रपति युनले “राष्ट्रविरोधी अभियोग”मा प्रमुख राजनीतिज्ञहरूलाई पक्राउ गर्न आदेश दिएको प्रमाण रहेको र यस्ता कार्यले देशलाई ठूलो खतरामा पुर्‍याउने बताएका छन्। उनले यस्ता अत्यधिक कदम फेरि नदोहोरिने सुनिश्चित गर्न युनलाई तत्काल निलम्बन गर्नुपर्ने उल्लेख गरे।

राष्ट्रपतिमाथि महाभियोग लगाउन विपक्षी दललाई सत्तारूढ पार्टीका कम्तीमा आठ सांसदहरूको समर्थन आवश्यक पर्नेछ। यसैबीच, सत्तारूढ पार्टीका सांसद चो क्युङ-ताई महाभियोगको समर्थनमा सार्वजनिक रूपमा आवाज उठाउने पहिलो सांसद बनेका छन्। उनले राजनीतिज्ञहरूलाई जनताको पक्षमा उभिन र सैनिक शासन लाद्ने शक्तिहरूसँग सहकार्य नगर्न आह्वान गरेका छन्।

राष्ट्रपति युनले मंगलबार साँझ केही घण्टाका लागि सैनिक शासन लागू गर्ने प्रयास गरेका थिए, जसले देशलाई झस्काएको मात्र होइन, दक्षिण कोरियाका मित्र राष्ट्रहरू र वित्तीय बजारलाई पनि प्रभावित बनाएको छ। सैनिक शासन लागू गर्न उनले “राष्ट्रविरोधी शक्तिहरू” र उत्तर कोरियाबाट खतरा रहेको दाबी गरे पनि यो कदम आन्तरिक राजनीतिक समस्याबाट उत्पन्न भएको खुलेको बिबिसीले जनाएको छ।

उनको आदेश केही घण्टामै रद्द भयो जब १९० सांसदहरूले संसद भवन प्रवेश गरेर यसलाई खारेज गरे। कतिपय सांसदहरूले बारबार तोडेर र पर्खाल चढेर संसदमा प्रवेश गरेको बिबिसीले जनाएको छ।

विशेष फौजका कमाण्डर क्वाक जोङ-क्युनले शुक्रबार संसदलाई कुनैपनि परिस्थितिमा सैनिक शासन लागू गर्ने आदेश नमान्ने आश्वासन दिएका छन्। उनले बुधबार संसद भवनबाट सांसदहरूलाई हटाउन अस्वीकार गरेको र कुनै पनि नागरिकलाई हानी नपुर्‍याउन फौजलाई गोली नदिन निर्देशन दिएको बताए।

सोलमा दुई दिनदेखि राष्ट्रपति युनको राजीनामाको माग गर्दै सडक प्रदर्शनहरू जारी छन्। प्रहरीका अनुसार युनमाथि “विद्रोह”को अभियोगमा अनुसन्धान पनि भइरहेको छ।

बिबिसीका अनुसार, विपक्षीका समर्थकहरूले संसद भवनको बाहिर प्रदर्शन गर्दै महाभियोग प्रस्ताव पारित गर्न दबाब दिइरहेका छन्। सांसदहरूलाई हजारौं सन्देश पठाइएको छ।

गएको बिहीबार सार्वजनिक गरिएको स्थानीय सर्वेक्षणले ७० प्रतिशतभन्दा धेरै दक्षिण कोरियाली नागरिक राष्ट्रपति युनको महाभियोगको पक्षमा रहेको देखाएको छ। मंगलबारदेखि बिहीबारसम्मको सर्वेक्षणले उनको लोकप्रियता १३ प्रतिशतमा झरेको देखाएको छ। यसअघि नै भ्रष्टाचार आरोप र कमजोर जनमतको चपेटामा परेका युनको सैनिक शासनको प्रयासले उनको राजनीतिक अवस्था झनै कमजोर बनाएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0