झापा, २३ मंसिर। प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली गृहजिल्ला झापाको दुईदिने भ्रमणमा आइपुगेका छन्। प्रधानमन्त्रीको सुरक्षा थ्रेटलाई मध्यनजर गरी व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ। आज बिहान साढे १० बजे काठमाडौँबाट यति एयरलाइन्समार्फत चन्द्रगढी विमानस्थल भद्रपुर आएका ओलीले विमानस्थलबाटै आफ्नो कार्यक्रम स्थलतर्फ प्रस्थान गरेका हुन्।
अन्नपूर्णपोष्टका अनुसार, प्रधानमन्त्री ओलीले झापा भ्रमणको पहिलो दिन मेचीनगर नगरपालिका–४ स्थित मानव सेवा आश्रममा भवनको शिलान्यास तथा उद्घाटन गरे। उक्त कार्यक्रममा सुरक्षा सतर्कतालाई उच्च प्राथमिकतामा राखिएको छ। सुरक्षा स्रोतका अनुसार विमानस्थलदेखि कार्यक्रम स्थलसम्म सशस्त्र प्रहरी, नेपाल प्रहरी, ट्राफिक प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान गरी १३०० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ।
प्रधानमन्त्रीका लागि सुरक्षा व्यवस्था कडा बनाइएको झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए। उनका अनुसार, प्रधानमन्त्री सवार सडक किनार, बजार क्षेत्र र चोक–चोकमा सुरक्षाकर्मी तैनाथ गरिएका छन्। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट थप जनशक्ति मगाइएको छ।
प्रधानमन्त्रीको भ्रमणलाई लक्षित गर्दै पहिचानवादी, रवि लामिछानेका समर्थक तथा दुर्गा प्रसाईंको रिहाको माग गरिरहेका प्रदर्शनकारीहरूले विरोध प्रदर्शन गर्न सक्ने भएकाले उच्च सुरक्षा सतर्कता अपनाइएको छ। अराजक गतिविधि गर्नेलाई तत्काल पक्राउ गर्न सुरक्षाकर्मीलाई निर्देशन दिइएको छ।
प्रधानमन्त्री ओलीले आज दिउँसो साढे १ बजे दमक नगरपालिका–३ स्थित डेढ अर्बभन्दा बढी लागतमा नवनिर्मित बिजनेस भ्यू टावरको उद्घाटन गर्ने कार्यक्रम रहेको छ।
भोलि प्रधानमन्त्रीको पहिलो कार्यक्रम बिहान १० बजे बेलडाँगी खानेपानी आयोजना उद्घाटन रहनेछ। ११ बजे गौरादह नगरपालिकाको महारानी झोडामा जग्गाधनी पुर्जा वितरण गर्ने कार्यक्रम छ। दिउँसो १२:३० बजे गौरादह बजारमा ताजपुरिया समाजको भेलालाई सम्बोधन गरेपछि बिर्तामोड फर्किने योजना रहेको छ।
बिर्तामोडमा दिउँसो २ बजे सिटी सेन्टरमा एमाले पार्टीका कार्यकर्ताहरूसँग भेटघाट तथा सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले झापाका सचिव तुलसी कार्कीले जनाएका छन्।
प्रधानमन्त्रीको भ्रमण झापा जिल्लाका विभिन्न आयोजनाहरूको उद्घाटन र राजनीतिक सम्बोधनमार्फत व्यस्त रहनेछ।


























