२४ मंसिर, काठमाडौं । काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको १५ खेल सम्पन्न भइसकेको छ। हालसम्म जनकपुर बोल्ट्स चार खेलमा अपराजित रहँदा लुम्बिनी लायन्स भने चारै खेलमा जितविहीन बनेको छ।

अनलाइनखबरका अनुसार चितवन राइनोज र सुदूरपश्चिम रोयल्सले समान चार खेलमा तीन जित दर्ता गरेका छन्। पोखरा एभेन्जर्स र काठमाडौं गुर्खाजले तीन खेलमा एक जित निकालेका छन् भने विराटनगर किंग्सले चार खेलमा एक जित मात्र हात पारेको छ।

एनपीएलमा हालसम्म एक शतक र १६ अर्धशतक प्रहार भइसकेका छन्। बलिङतर्फ तीन खेलाडीले एकै खेलमा पाँच विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरेका छन्।

सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा लुम्बिनी लायन्सका कप्तान रोहित पौडेल शीर्ष स्थानमा छन्। उनले चार खेलमा १८१ रन बनाएका छन्। उनकाे सर्वाधिक स्कोर ९५ छ भने औसत ४५ रहेको छ। यद्यपि, उनको टिमले कुनै पनि खेल जित्न सकेको छैन। दोस्रो स्थानमा जनकपुर बोल्ट्सका लाहिरु मिलान्था छन्, जसले चार खेलमा १६८ रन बनाएका छन्। उनकाे उच्च स्कोर ७५* र औसत ५६ छ।

तेस्रो स्थानमा चितवन राइनोजका रवि बोपारा रहेका छन्। उनले चार खेलमा १५७ रन बनाएका छन्। उनको सर्वाधिक स्कोर ५९* हो भने औसत ५२ रहेको छ। सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले चार खेलमा १४० रन बनाउँदै २०० को स्ट्राइक रेटसहित उत्कृष्ट प्रदर्शन गरेका छन्। यस्तै, कर्णाली याक्सका शिखर धवनले चार खेलमा १३६ रन बनाएका छन्। उनी चार खेल खेलेर भारत फर्किसकेका छन्।

बलिङतर्फ चितवन राइनोजका सोहेल तनविर शीर्ष स्थानमा छन्। उनले चार खेलमा ६७ रन दिएर नौ विकेट लिएका छन्। उनको उत्कृष्ट प्रदर्शन ५-२१ रहेको छ। जनकपुरका ललित राजवंशी र हर्श थाकरले समान आठ विकेट लिएका छन्। सुदूरपश्चिमका स्कट कुग्लेइनले चार खेलमा सात विकेट लिए भने कर्णाली याक्सका बिपिन प्रसाद शर्माले तीन खेलमा छ विकेट लिएका छन्।

सुदूरपश्चिमका ब्रान्डन माकमुलेन, सेफ अली जैब र अविनाश बोहराले पनि समान छ-छ विकेट लिँदै बलिङमा प्रभाव छोडेका छन्।

एनपीएलमा सोमबार ब्रेक रहेको छ। मंगलबारदेखि पुनः खेलहरू सुरु हुनेछन्। यसले आगामी खेलहरूमा टोलीहरूको प्रदर्शन र अंक तालिकामा हुने परिवर्तनलाई थप रोमाञ्चक बनाउने अपेक्षा गरिएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0