जारी एनपीएलमा कीर्तिपुर किक्रेट मैदान काठमाडौँ, १७ मङ्सिरः कीर्तिपुर किक्रेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा कर्णाली याक्स र जनकपुर बोल्ट्सबीचको प्रतियोगिताका क्रममा ड्रोनबाट देखिएको दृश्य । तस्बिरः प्रदीपराज वन्त÷रासस

२६ मंसिर, काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बुधबारको दोस्रो खेलमा लुम्बिनी लायन्स र काठमाण्डु गुर्खाजबीच कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा प्रतिस्पर्धा हुँदैछ। खेल दिउँसो १ बजे सुरू हुनेछ।

काठमाण्डु गुर्खाजको कप्तानी करण केसीले गर्दैछन् भने लुम्बिनी लायन्सलाई रोहित पौडेलले नेतृत्व गर्नेछन्। पाँच दिनको विश्रामपछि मैदानमा उत्रन लागेको काठमाण्डु गुर्खाज यस अवधिमा लुम्बिनीले लगातार चार खेल खेलिसकेको छ।

अंक तालिकामा दुवै टोलीको समान २ अंक रहेको छ। काठमाण्डु छैटौं स्थानमा छ भने नेटरनरेटको आधारमा लुम्बिनी पाँचौं स्थानमा छ। लुम्बिनीका लागि प्लेअफ सम्भावना जीवित राख्न आजको खेल निर्णायक हुनेछ। यस्तै, काठमाण्डुले पनि प्लेअफको दौडमा रहनका लागि जित्नैपर्ने दबाब छ।

काठमाण्डुको प्रदर्शनमा उतारचढाव देखिएको छ। प्रतियोगिताको पहिलो खेलमा चितवनसँग कम स्कोरमा पराजित भएको टोलीले दोस्रो खेलमा ३ विकेटले जित हात पारेको थियो। तेस्रो खेलमा भने काठमाण्डुले फराकिलो हार व्यहोर्नुपरेको थियो। काठमाण्डुको टप अर्डरले अपेक्षाकृत प्रदर्शन गर्न सकेको छैन। विदेशी खेलाडीहरू स्टेफेन एस्किनाजी र माइकल लेभिटले पाएको सुरुवातलाई ठुलो स्कोरमा परिणत गर्न नसक्दा टोली दबाबमा देखिन्छ।

कप्तान करण केसीको बलिङ र सुमित महर्जनको इनिङ्सले टोलीलाई एक जित दिलाए पनि ब्याटिङमा सुधार गर्नुपर्ने आवश्यकता छ। पेस बलिङमा करण र राशिद खान प्रभावकारी देखिएका छन् भने स्पीन विभागमा नाथन सोटर, शाहब आलम, र जेरार्ड एरासमसले साथ दिएका छन्।

लुम्बिनी लायन्सका लागि आजको खेल थप दबाबपूर्ण छ। प्लेअफ सम्भावना जीवित राख्न लुम्बिनीले आजको खेल जितेर बाँकी खेलहरूमा पनि उत्कृष्ट प्रदर्शन गर्नुपर्नेछ। कप्तान रोहित पौडेलले उत्कृष्ट अलराउण्ड प्रदर्शन गर्दै टोलीलाई जित दिलाएका छन्।

लुम्बिनीले हालसम्म ओपनिङ कम्बिनेशनमा स्थिरता ल्याउन सकेको छैन। साद बिन जफरले प्रभावकारी प्रदर्शन गरे पनि बेन कटिङ र अन्य खेलाडीले निरन्तरता दिन सकेका छैनन्। मंगलबारको खेलमा रोहितको उत्कृष्ट प्रदर्शनका कारण टोलीले जित हात पारेको थियो। पेस बलिङमा दुर्गेश गुप्ता र रामोन सिमोण्ड्सले योगदान दिएका छन् भने स्पीनमा रोहित र जफर प्रभावकारी देखिएका छन्। युवा बलर अभिशेष गौतमले पनि आफ्नो भूमिका राम्रोसँग निर्वाह गरिरहेका छन्।

आजको खेलले लुम्बिनी र काठमाण्डु दुवै टोलीको प्लेअफ यात्रा तय गर्ने सम्भावनालाई स्पष्ट बनाउनेछ। दुवै टोलीका लागि यो खेल जित्न अत्यन्त महत्त्वपूर्ण रहेको छ।

(स्रोत: अनलाइनखबर)

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0