पोखरा, २७ मंसिर। तालिबानका शरणार्थी मन्त्री खलिल हक्कानी काबुलको गृह मन्त्रालयभित्र भएको आत्मघाती बम आक्रमणमा मारिएका छन्। यो घटना सन् २०२१ मा तालिबान सत्तामा फर्किएपछि भएका उच्चस्तरीय हताहत घटनामध्ये एक हो।

बिबिसीका अनुसार, गृह मन्त्रालयका स्रोतले बताएअनुसार खलिल हक्कानी आफ्नो कार्यालयबाट बाहिर निस्कने क्रममा विस्फोट गराइएको थियो। उक्त विस्फोटमा अन्य छ व्यक्तिको पनि मृत्यु भएको छ।

खलिल हक्कानी तालिबानको शक्तिशाली हक्कानी समूहका उच्च सदस्य थिए। उनलाई अमेरिकाले विश्वस्तरीय आतंकवादीको सूचीमा राखेको थियो। यस आक्रमणको जिम्मेवारी इस्लामिक स्टेट (आइएस) समूहले लिएको छ।

आइएसको समाचार एजेन्सी अमाकका अनुसार, आइएसका एक सदस्यले मन्त्रीको कार्यालयबाहिर पर्खेर विस्फोट गराएको थियो। तालिबानका प्रवक्ताले पनि यो आक्रमण आइएसले गरेको पुष्टि गरेको बिबिसीले जनाएको छ।

खलिल हक्कानीका दाजु जलालुद्दीन १९८० को दशकमा सोभियत सेनाविरुद्ध लडेका प्रसिद्ध गुरिल्ला नेताका रूपमा चिनिन्छन्। उनले हक्कानी नेटवर्कको स्थापना गरेका थिए, जसले तालिबानको २० वर्षे विद्रोहमा अनेकौँ आक्रमणहरू गरेको थियो।

हालका गृह मन्त्री सिराजुद्दीन हक्कानी खलिल हक्कानीका भतिज र जलालुद्दीनका छोरा हुन्।

तालिबानको सत्तामा फर्किएपछि अफगानिस्तानको सुरक्षा अवस्था केही सुधार भएको देखिए पनि वर्षेनि कैयौँ बम विस्फोट र आत्मघाती आक्रमणहरू भइरहेका छन्। धेरैजसो आक्रमण इस्लामिक स्टेट खोरासान प्रान्त (आइएसकेपी)ले गरिरहेको छ, जुन तालिबानको प्रमुख प्रतिस्पर्धी समूह हो।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0