पोखरा, २७ मंसिर। सन् २०३४ को पुरुष फुटबल विश्वकप साउदी अरेबियामा आयोजना हुने तय भएको छ भने सन् २०३० को प्रतियोगिता स्पेन, पोर्चुगल र मोरक्कोले संयुक्त रूपमा आयोजना गर्ने भएका छन्। फिफाले बुधबार आयोजित विशेष कांग्रेस बैठकपछि यसबारे पुष्टि गरेको बिबिसीले जनाएको छ।
सन् २०३० को विश्वकप प्रतियोगिताको तीन खेल अर्जेन्टिना, पाराग्वे र उरुग्वेमा खेलाइने छ। यस निर्णयले विश्वकपको १०० वर्षको इतिहासलाई सम्मान गर्न ती राष्ट्रहरूलाई समावेश गरिएको हो।
दुवै विश्वकपका आयोजक देशहरूलाई फिफाका २११ सदस्य राष्ट्रहरूले भर्चुअल बैठकमार्फत मतदानद्वारा समर्थन गरेका थिए। सहभागी देशहरूले आ-आफ्नो मत ताली बजाएर प्रदर्शन गरेका थिए।
इंग्ल्यान्ड, स्कटल्यान्ड र वेल्सका फुटबल संघहरूले प्रस्तावित आयोजक राष्ट्रहरूको समर्थन गरेका छन्। इंग्ल्यान्डको फुटबल संघले विश्वकपको सुरक्षालाई प्राथमिकतामा राखेर साउदी अरेबियालाई समर्थन गरेको बताएको छ।
तर, नर्वेले हालको विश्वकप आयोजना प्रक्रिया प्रति चिन्ता व्यक्त गर्दै मतदानमा भाग नलिएको बिबिसीले उल्लेख गरेको छ। स्विट्जरल्याण्डको फुटबल संघले मानव अधिकार सुधारको निगरानी गर्न फिफा र अन्तर्राष्ट्रिय श्रम संगठनलाई आग्रह गरेको छ।
साउदी अरेबिया पछिल्लो समय खेलकुद क्षेत्रमा ठूलो लगानी गर्दै आएको छ। तर, मानव अधिकार हनन र पर्यावरणीय प्रभावबारे प्रश्न उठाइएका छन्। एमनेस्टी इन्टरनेसनलले साउदी अरेबियालाई विश्वकप दिनु फिफाको “लापरवाहीपूर्ण निर्णय” भएको बताएको छ।
फिफा अध्यक्ष जियानी इनफान्टिनोले आलोचनाको जवाफ दिँदै आयोजक राष्ट्रहरूले सामाजिक सुधार र मानव अधिकारमा सकारात्मक प्रभाव पार्ने प्रतिबद्धता जनाएका छन् भने।





























