२९ मंसिर, काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले महानगरलाई स्वच्छ, हराभरा र व्यवस्थित बनाउँदै ७७ वटै जिल्लाका नागरिकका लागि बस्न योग्य सहर निर्माण गर्ने लक्ष्य रहेको बताएका छन्। तीसौँ महानगर दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले महानगरवासीलाई उत्कृष्ट सेवा दिन निरन्तर खटिरहेका सफाइकर्मी, महानगर प्रहरी, कर्मचारी, र सांस्कृतिक झाँकी प्रस्तुत गर्ने सबैलाई धन्यवाद व्यक्त गरे।

मेयर शाहले काठमाडौंलाई सांस्कृतिक, कलात्मक, र संगीतले भरिएको सहरका रूपमा चित्रण गर्दै यसलाई अझ सुसंस्कृत र समृद्ध बनाउने प्रतिबद्धता व्यक्त गरे। उपराष्ट्रपति रामसहायप्रसाद यादवले काठमाडौंलाई संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको केन्द्रीय राजधानीका साथै सांस्कृतिक र ऐतिहासिक सम्पदाको केन्द्रबिन्दुका रूपमा व्याख्या गरे। उनले महानगरले घरआँगनमै सरकारको अनुभूति गराउँदै उत्कृष्ट सेवा प्रदान गरेको उल्लेख गर्दै सहरी सुव्यवस्थापन, नदी सुधार, हरियाली प्रवर्द्धन, र सम्पदा संरक्षणजस्ता क्षेत्रमा गरेको योगदानको प्रशंसा गरे।

महानगरकी उपप्रमुख सुनिता डंगोलले पूर्वाधार विकासलाई पहिलो प्राथमिकता रहेको बताउँदै समृद्ध महानगर निर्माणमा निरन्तर प्रयास भइरहेको जानकारी दिइन्।

काठमाडौं महानगरको इतिहासमा १९९६ साल पुस ३ गते स्थापना भएको सफाइ अड्डालाई २०५२ साल मंसिर २९ गते महानगर घोषणा गरिएको थियो। दिवसको अवसरले महानगरलाई सुसंस्कृत, समृद्ध र दिगो विकासतर्फ अघि बढाउने संकल्पलाई थप सुदृढ बनाएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0