२९ मंसिर, काठमाडौं। उपराष्ट्रपति रामसहायप्रसाद यादवले काठमाडौं महानगरपालिकाले महानगरवासीलाई घरआँगनमै सरकारको अनुभूति गराउन सफल भएको बताएका छन्। तीसौँ महानगर दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उपराष्ट्रपतिले स्थानीय निकायको सक्रियताबाट जनताले सहज सेवा प्राप्त गरेको उल्लेख गरे।
उनले सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक सम्पदाले भरिएको काठमाडौं महानगरलाई संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको केन्द्रीय राजधानी मात्र नभई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्वको केन्द्रबिन्दुका रूपमा चित्रण गरे। साथै, विश्वसम्पदा क्षेत्रका सांस्कृतिक वैभव र मौलिक पहिचानको संरक्षणका लागि महानगरको योगदान प्रशंसनीय रहेको धारणा व्यक्त गरे।
उपराष्ट्रपतिले सहरी सुव्यवस्थापन, नदी तथा जल प्रणाली सुधार, हरियाली प्रवर्द्धन, सम्पदाको संरक्षण, पोखरीको पुनःस्थापना, र एकीकृत सहरी विकासजस्ता क्षेत्रमा महानगरले गरेको प्रयास अन्य स्थानीय तहका लागि अनुकरणीय रहेको बताए। साथै, संघीयता कार्यान्वयनमा युवावर्गको सशक्त भूमिकाको आवश्यकता पनि उनले औंल्याए।
कार्यक्रममा काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहले ७७ वटै जिल्लाका नागरिकका लागि बस्न योग्य महानगर निर्माणमा आफू प्रतिबद्ध रहेको बताए। महानगरकी उपप्रमुख सुनिता डंगोलले पूर्वाधार विकासलाई पहिलो प्राथमिकतामा राखेर दिगो विकासका लागि निरन्तर प्रयास गरिरहेको जानकारी दिइन्।
विसं १९९६ पुस ३ गते स्थापना भएको सफाइ अड्डा २०५२ साल मंसिर २९ गते काठमाडौं महानगर घोषणा भएको थियो। महानगर दिवसले सहरलाई स्वच्छ, हराभरा, र सुसंस्कृत बनाउने संकल्पलाई थप सुदृढ बनाएको छ।





























