२९ मंसिर, मेलबर्न। नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने उद्देश्यले अस्ट्रेलियाको मेलबर्नमा शनिबारदेखि ‘मेड इन नेपाल एक्स्पो’ सुरु भएको छ। महिला उद्यमी महासंघ नेपाल र नेप्को इन्टरटेनमेन्टको सहकार्यमा आयोजित एक्स्पोको अध्यक्षता महासंघकी अध्यक्ष शोभा ज्ञवालीले गरिन्।
उद्घाटन समारोहमा मारिबिर्नोङ काउन्सिलका मेयर प्रदीप तिवारी प्रमुख अतिथि थिए। साथमा काउन्सिलर मिस सु बोल्टन, ढोरपाटन नगरपालिकाका कार्यवाहक नगरप्रमुख धनबहादुर कायत, गैरआवासीय नेपाली संघका निवर्तमान अध्यक्ष शेष घले, र उद्यमी जमुना घलेको उपस्थिति रहेको थियो।
कार्यक्रममा मेयर तिवारीले नेपाली उत्पादनहरू उत्कृष्ट रहेको उल्लेख गर्दै महिला उद्यमी महासंघलाई सहकार्य गर्न प्रतिबद्धता व्यक्त गरे। काउन्सिलर बोल्टनले यस्ता प्रदर्शनीले नेपाल र अस्ट्रेलियाबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने बताइन्।
उद्यमी शेष घलेले नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्न प्रदर्शनीहरूको प्रभावकारीता बढाउनुपर्नेमा जोड दिए। अध्यक्ष ज्ञवालीले यस प्रदर्शनीले नेपाली कला, संस्कृति, र शिक्षालाई विश्वसामु चिनाउने महत्वपूर्ण अवसर प्रदान गरेको बताइन्।
नेपाली हस्तकला, कृषि, कपडा, पर्यटन, खाद्य सामग्री र सांस्कृतिक उत्पादनहरूको प्रदर्शन तथा बिक्री भएको यो एक्स्पो आइतबारसम्म चल्नेछ।
































