२९ मंसिर, काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्रलाई चलायमान बनाउन सबै पक्षको जिम्मेवारी सुनिश्चित गर्नुपर्ने बताएका छन्। शनिवार काठमाडौंमा नेपाल आर्थिक पत्रकार संघको १५ औं साधारण सभामा बोल्दै उनले सरकारले नीति ल्याए पनि त्यो मात्र पर्याप्त नहुने भन्दै, सबैले जिम्मेवारीका साथ अघि बढ्नुपर्नेमा जोड दिएका छन्।
अध्यक्ष ढकालले अन्तरमन्त्रालय र निकायबीच समन्वयको कमीले समस्याहरू सिर्जना भइरहेको उल्लेख गरे। उनले भने, “समस्या समाधान गर्न सबै पक्ष जिम्मेवार भएर अगाडि बढ्नुपर्छ। छोटो समयमै सुधार गर्न सकिन्छ यदि सबै निकायहरू बीचको समन्वय सुधारियो भने।”
यसैगरी, ढकालले सरकारले आर्थिक नीतिहरू लागू गर्दा कामको भुक्तानी समयमै प्रदान गर्ने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए। उनले अर्थतन्त्रको अहिलेको अवस्थाको जिम्मेवारी विगतमा लिएका नीतिहरूसँग जोडिएको स्पष्ट पारे।

































