२९ मंसिर, पोखरा। १७ दिन लामो युरोपेली संघ (इयू) समर्थक प्रदर्शनपछि जर्जियाको विवादास्पद संसदले पूर्व म्यानचेस्टर सिटी खेलाडी मिखाइल काभेलाशभिलिलाई राष्ट्रपति चयन गरेको छ। जर्जियाको सत्तारूढ दल जर्जियन ड्रिमसँग निकट काभेलाशभिली एकमात्र उम्मेदवार थिए। शनिबार भएको निर्वाचनमा २२५ सदस्यीय निर्वाचन मण्डलमा २२४ मत प्राप्त गर्दै उनी निर्वाचित भएका हुन्।

तर चार प्रमुख विपक्षी दलहरूले चुनावलाई धाँधलीपूर्ण भन्दै संसद बहिष्कार गरेका छन्। सत्तारूढ दलको विरोधमा राजधानी टिबिलिसी लगायत देशभर प्रदर्शन चर्किएका छन्। जर्जियाका बहालवाला राष्ट्रपति सालोमे जौराबिचभिलीले काभेलाशभिलिको निर्वाचनलाई ‘न्यायको उपहास’ भन्दै अस्वीकार गरेकी छन्। उनले आफ्नो कार्यकाल २९ डिसेम्बरसम्म समाप्त नभएसम्म जर्जियाको एकमात्र वैध संस्था राष्ट्रपति कार्यालय रहेको बताएकी छन्।

प्रधानमन्त्री इराक्ली कोबाखिद्जेले जौराबिचभिलिलाई देशका हितविरुद्ध काम गरेको आरोप लगाउँदै उनको कार्यकालपछि ‘सेवानिवृत्त’ हुनुपर्ने बताएका छन्।

युरोपेली संघमा प्रवेश स्थगित गर्ने निर्णयपछि प्रदर्शन चर्कियो

जर्जियन ड्रिमले अक्टोबरको चुनावपछि संसदलाई नियन्त्रणमा लिएको भन्दै विरोध प्रदर्शन सुरु भए पनि २८ नोभेम्बरमा सरकारले २०२८ सम्म इयूमा प्रवेशको प्रक्रिया स्थगित गर्ने घोषणा गरेपछि प्रदर्शन व्यापक बनेका हुन्।

टिबिलिसीको मुख्य सडकमा इयूका झण्डा बोकेका हजारौं प्रदर्शनकारी प्रत्येक रात संसदबाहिर जम्मा भइरहेका छन्। प्रदर्शनकारीहरू निष्पक्ष निर्वाचन र लोकतन्त्रको सम्मानको माग गरिरहेका छन्। शुक्रबार राति वकिल, आईटी व्यवसायी, सरकारी कर्मचारी र थुप्रै क्षेत्रमा कार्यरत व्यक्तिहरू सहभागी भएका थिए।

विवादास्पद राष्ट्रपति काभेलाशभिलि

काभेलाशभिलि जर्जियन ड्रिमको विवादास्पद ‘पीपल्स पावर’ पार्टीका संस्थापक हुन्। विपक्षीलाई विदेशी शक्तिबाट निर्देशित ‘पाँचौं स्तम्भ’ भनेका उनले राष्ट्रपति जौराबिचभिलिलाई ‘मुख्य एजेन्ट’ को संज्ञा दिएका छन्।

जर्जियन ड्रिमका संस्थापक र पूर्वप्रधानमन्त्री बिजिना इभानिश्विलीको नेतृत्वमा रहेको सत्तारूढ पार्टीले जर्जियालाई रूसको प्रभाव क्षेत्रमा तान्न खोजेको आरोप लागेको छ।

दमन र मानवअधिकार हननको आरोप

सार्वजनिक संगठन ट्रान्सपरेन्सी इन्टरनेशनलका अनुसार, पछिल्लो दुई हप्तामा ४६० भन्दा बढी व्यक्ति गिरफ्तार भएका छन्, जसमा दर्जनौं मिडिया व्यक्तित्व रहेका छन्। ३०० भन्दा बढी व्यक्तिलाई यातना र दुर्व्यवहार गरिएको दाबी गरिएको छ। मिडियाका प्रतिनिधिहरूमाथि आक्रमणका भिडियोहरूले व्यापक चर्चा पाएको छ।

इयू र अमेरिका दुवैले जर्जियन सरकारको ‘प्रजातान्त्रिक विचलन’ को निन्दा गरेका छन्। अमेरिकाले केही सरकारी अधिकारी र प्रहरीमाथि भिसा प्रतिबन्ध लगाइसकेको छ भने इयूले सोमबार थप कदम चाल्ने तयारी गरेको छ। प्रदर्शनकारीहरूले सरकारका शीर्ष अधिकारीहरू र इभानिश्विलीमाथि प्रतिबन्ध लगाउन आह्वान गरेका छन्।

प्रदर्शन अझै जारी

टिबिलिसीमा प्रदर्शनकारीहरूले “प्रहरी जहाँसुकै छन्, न्याय कहीं छैन” भन्ने नारा लगाएका छन्। प्रदर्शनीमा थिएटरकर्मी, वकिल, र विभिन्न पेशाकर्मीहरूको सहभागिता रहेको छ। प्रदर्शनकारीहरूले लोकतन्त्र, संविधानको सम्मान र मानव अधिकारको रक्षा सुनिश्चित नभएसम्म आन्दोलन जारी राख्ने अठोट लिएका छन्।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0