१ पुस, पोखरा । इजरायलको सरकारले गोलान हाइट्समा बसोबास विस्तारलाई प्रोत्साहन गर्ने योजना पारित गरेको छ। प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सिरियाको सीमामा नयाँ सुरक्षा चुनौती उत्पन्न भएकाले यो कदम आवश्यक भएको बताएका छन्।
बिबिसीका अनुसार सन् १९६७ को छ दिने युद्धका क्रममा इजरायलले कब्जा गरेको गोलान हाइट्सलाई अन्तर्राष्ट्रिय कानुनअनुसार अवैध कब्जा मानिन्छ। नेतान्याहुले गोलान हाइट्सको जनसंख्या दोब्बर बनाउने योजना सार्वजनिक गर्दै भनेका छन्, “यो क्षेत्र हाम्रो नियन्त्रणमा रहनेछ, हामी यसलाई विकास गर्नेछौं र यहाँ बसोबासलाई प्रोत्साहित गर्नेछौं।”
गोलान हाइट्समा ३० भन्दा बढी इजरायली बस्ती छन्, जसमा करिब २०,००० इजरायली बसोबास गर्छन्। उनीहरूसँगै त्यहाँ झन्डै २०,००० सिरियाली पनि बस्छन्, जसमा अधिकांश ड्रुज समुदायका छन्।
सिरियाको राजधानी दमास्कस विद्रोही गठबन्धनको नियन्त्रणमा गएपछि त्यहाँको अवस्थामा परिवर्तन आएको भन्दै इजरायली सेनाले सिरिया र गोलान हाइट्सबीचको संयुक्त राष्ट्र संघीय बफर क्षेत्रमा फौज तैनाथ गरेको छ। नेतान्याहुले सिरियामा नयाँ विद्रोही सरकार बनेपछि पुराना युद्धविराम व्यवस्था भंग भएको बताएका छन्।
तर, यस कदमलाई इजरायलकै पूर्वप्रधानमन्त्री एहुद ओल्मर्टले आलोचना गर्दै भनेका छन्, “यदि हामी सिरियासँग टकराव चाहन्नौं भने गोलान हाइट्समा विस्तार किन गर्दैछौं?” बीबीसीसँगको अन्तरवार्तामा उनले इजरायलसँग पहिले नै धेरै समस्या रहेको उल्लेख गर्दै यस कदमलाई अनावश्यक भने।
यसैबीच, सिरियाका नयाँ नेतृत्त्वकर्ता अहमद अल-शराआले इजरायलको निरन्तर सैन्य आक्रमणको विरोध गर्दै यी कदमहरूले तनाव चुल्याउने चेतावनी दिएका छन्। बीबीसीका अनुसार, इजरायलले सन् ८ डिसेम्बर यता सिरियामा ४५० भन्दा बढी हवाई आक्रमण गरिसकेको छ।
सिरियाको राजधानी दमास्कस विद्रोही समूह हयात तहरीर अल-शाम (एचटीएस) को नेतृत्वमा कब्जा भएको छ। सिरियाका पूर्वराष्ट्रपति बसर अल-असद परिवारसहित रुसमा शरण लिएर बसेका छन्। अल-शराआले सिरिया अहिले युद्धपछिको थकित अवस्थामा रहेको र थप टकराव नचाहेको बताए।
संयुक्त राष्ट्र संघका सिरिया दूत गेयर पेडरसनले सिरियामा आर्थिक सुधारका लागि छिट्टै अन्तर्राष्ट्रिय प्रतिबन्ध हटाउनुपर्ने बताए। त्यस्तै, टर्कीले नयाँ सिरियाली सरकारलाई समर्थन गर्ने संकेत गर्दै यसलाई अवसर दिन आवश्यक रहेको बताएको छ।
इजरायली प्रधानमन्त्री नेतान्याहुले भने इजरायलको नीति सधैं भू-राजनीतिक वास्तविकतामा आधारित हुने बताए। उनले इजरायलको सिरियासँग टकरावको रुचि नभएको दाबी गरे पनि यो कदमले क्षेत्रीय विवादलाई अझ जटिल बनाएको छ।





























