१ पुस, पोखरा । फ्रान्सको हिन्द महासागरीय क्षेत्र मयोत्तेमा शक्तिशाली साइक्लोन चिडोका कारण ठूलो जनधनको क्षति भएको छ। यस प्राकृतिक विपत्तिमा सयौं मानिसको मृत्यु भएको आशंका गरिएको छ भने मृतकको संख्या हजारौं पुग्न सक्ने बताइएको छ। उद्धारकर्मीहरू अझै पनि प्रभावित क्षेत्रमा पुगेर जीवितहरूको खोजीमा जुटिरहेका छन्।

बिबिसीका अनुसार साइक्लोनले २२५ किलोमिटर प्रति घण्टा (१४० माइल प्रति घण्टा) को तीव्र गतिका हावासहित व्यापक विनाश मच्चाएको छ। विशेषगरी अस्थायी आश्रयमा बस्दै आएका गरिब बस्तीहरू पूरै ध्वस्त भएका छन्। मयोत्तेका ३ लाख २० हजार जनसंख्यामध्ये धेरैजसो खाद्यान्न, पानी र आवासको गम्भीर अभावसँग जुधिरहेका छन्।

राजधानी मामुद्जुका एक बासिन्दाले बीबीसीसँग भने, “हामीलाई तीन दिनदेखि पानी उपलब्ध भएको छैन, अवस्था दिनप्रतिदिन गम्भीर बन्दै गएको छ। हाम्रो आवश्यकता पूरा गर्नको लागि न्यूनतम वस्तु मात्र जुटाउँदैछौं, किनकि पानी कहिले आउने हो थाहा छैन।”

अर्का बासिन्दा जोन बालोजले आफू साइक्लोनको चपेटाबाट बाँच्न सफल भएकामा अचम्म लागेको बताए। उनले भने, “त्यो बेला तीव्र हावा चलिरहेको थियो, म डराएको थिएँ र चिच्याउँदै मद्दत मागिरहेको थिएँ। मलाई लाग्यो कि यो नै मेरो अन्त्य हो।”

मामुद्जुकै अर्का बासिन्दा मोहम्मद इस्माएलले रायटर्ससँग भने, “यो अवस्था कुनै परमाणु युद्धपछिको विनाशजस्तो छ। मैले पूरै बस्तीहरू गायब भएको देखेँ।” उद्धारका लागि विद्यालयमा शरण लिएका केही व्यक्तिले छिमेकीहरूसँग मिलेर सतर्कता अपनाइरहेको बताएका छन्।

मयोत्तेका गरिब समुदाय, विशेषगरी शरणार्थीका रूपमा बस्न आएका अवैध आप्रवासीहरू यो विपत्तिबाट धेरै प्रभावित भएका छन्। त्यहाँका कमजोर आवासले थप जोखिम निम्त्याएको बताइएको छ।

मयोत्तेको जनसंख्या धेरै हदसम्म फ्रान्सको आर्थिक सहयोगमा निर्भर छ। त्यहाँ गरिबी र बेरोजगारीको समस्या दीर्घकालदेखि गहिरो रहेको छ। जनसंख्याको झन्डै ७५ प्रतिशत राष्ट्रिय गरिबीको रेखामुनि बस्दछन् भने बेरोजगारी दर करिब ३३ प्रतिशत छ।

फ्रान्सका राष्ट्रपति इमानुएल माक्रोँले मयोत्तेका नागरिकहरूप्रति समवेदना प्रकट गर्दै भने, “मयोत्तेका नागरिकहरूले अत्यन्त भयावह घडी व्यतीत गरेका छन्। कतिपयले त सबै गुमाएका छन्, जसमध्ये केहीले आफ्ना प्रियजनसमेत गुमाएका छन्।”

मयोत्तेमा उद्धार कार्य तीव्र भए पनि केही क्षेत्रसम्म पुग्न अझै सकिएको छैन। मयोत्तेका प्रमुख फ्रान्स्वा-जाभियर बिउभिलेले स्थानीय सञ्चारमाध्यमसँग भनेका छन् कि मृतकको संख्या “निश्चय नै सयौं” मा पुग्नेछ र यसले हजारौंको संख्या समेत पार गर्न सक्नेछ।

फ्रान्सका गृहमन्त्री ब्रुनो रिटायोले मयोत्ते पुगेर विपत्तिको “असाधारण गम्भीरता” स्वीकार्दै उद्धार कार्यलाई तीव्र बनाइने आश्वासन दिएका छन्।

साइक्लोन चिडोले मोजाम्बिकमा पनि विनाश ल्याएको छ। त्यहाँ विशेष गरी नम्पुला र काबो डेल्गाडोमा संरचनात्मक क्षति र विद्युत आपूर्ति बन्द भएको छ। युनिसेफका प्रवक्ता गाई टेलरले भने, “धेरै घरहरू ध्वस्त भएका छन् र स्वास्थ्य तथा शिक्षाका सुविधा सञ्चालनमा छैनन्।” उनले स्वच्छ पानीको अभाव, स्वास्थ्य सेवा अवरुद्ध र हैजाजस्ता रोग फैलिन सक्ने चिन्ता व्यक्त गरे।

यस विपत्तिले मयोत्ते र मोजाम्बिकमा गहिरो मानवीय संकट निम्त्याएको छ। उद्धार र राहत कार्यलाई प्रभावकारी बनाउन अन्तर्राष्ट्रिय सहयोगको आवश्यकता देखिएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0