इलाम, पुस २। विभागीय टोली त्रिभुवन आर्मी क्लब झापाको बिर्तामोडमा जारी झापा कप फुटबल प्रतियोगिताको पहिलो चरणबाटै बाहिरिएको छ। डोमलाल रङ्गशालामा भएको खेलमा सहलेस फुटबल क्लब सिराहाले आर्मीलाई २-० को नतिजामा पराजित गरेको हो। सहलेसका अवि लामाले खेलको १८ औं मिनेटमा पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। त्यसपछि २७ औं मिनेटमा आदित्य शाक्यको अर्को गोलले सिराहालाई २-० को जीत सुनिश्चित गर्‍यो।

खेलको सुरुवातमै दबाब सिर्जना गरेको सहलेसले आर्मीको डिफेन्सलाई पटक–पटक समस्यामा पार्‍यो। आर्मीले गोल गर्ने केही अवसर बनाए पनि फिनिसिङ दिन नसक्दा पहिलो चरणबाटै बाहिरिनुपर्‍यो। अवि लामाको गोलले अग्रता बनाएको सिराहाले पुनः गोल गर्ने केही सुनौलो अवसर खेर फाल्यो। सिराहाका खेलाडी जोन ग्लोरी र समीर श्रेष्ठले प्रहार गर्दा लक्ष्य भेद गर्न सकेनन्।

यता, आर्मीले खेलको प्रारम्भदेखि नै आक्रामक शैली अपनाए पनि गोलमा परिणत गर्न असफल रह्यो। कप्तान भरत खवासले खेलको ७ औं मिनेटमा डिबक्सभित्रै पाएको मौका गुमाए। जिलेस्पि जङ्ग कार्की र सिर्जन दानीले समेत महत्वपूर्ण अवसरलाई गोलमा परिणत गर्न सकेनन्। खेलको दोस्रो हाफमा पनि आर्मीले आक्रामक खेल प्रदर्शन गरे पनि गोल गर्न नसक्दा पराजय भोग्नुपर्‍यो।

सहलेस फुटबल क्लबका अवि लामालाई खेलको ‘म्यान अफ द म्याच’ घोषित गरिएको छ। प्रतियोगितामा १० लाख नगद पुरस्कार विजेता टिमले प्राप्त गर्नेछ भने उपविजेताले ५ लाख नगद पाउनेछ। आयोजक झापा ११ फुटबल क्लबका महासचिव गणेश पोखरेलका अनुसार उत्कृष्ट खेलाडीलाई नगद एक लाख रुपैयाँ प्रदान गरिनेछ। प्रतियोगिताका हरेक खेलको प्लेयर अफ द म्याचले १० हजार नगद पाउनेछन्। पुस ८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको अर्को खेल जिटिए दार्जिलिङ र इटहरी फुटबल क्लबबीच हुनेछ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0