काठमाडौं, २ पुस । दोस्रो अन्तराष्ट्रिय संस्करणको गायन प्रतियोगिता ‘मेरो भ्वाइस युनिर्भस’ र नृत्य प्रतियोगिता ‘मेरो डान्स युनिर्भस’को तयारी सुरु भएको छ। आयोजकले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता प्रस्तुतकर्ता र निर्णायक मण्डलको घोषणा गरेको छ। यी दुबै प्रतियोगितामा विजेताले एक करोड रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् भने उपविजेताले २० लाख र तेश्रो स्थान प्राप्त गर्नेले १० लाख रुपैयाँ प्राप्त गर्नेछन्।
यसपटक प्रतियोगिता कानुनी रुपमा आयोजना गरिएको छ। आयोजक डिल्ली अधिकारीले नेपालमा इन्ट्रा नेपाल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन स्थापना गरेर कार्यक्रम आयोजना गर्न लागेको जानकारी दिए। यसमा नेपाली कला र संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले नेपाली शैलीका गीत र नृत्य प्रस्तुत गरिनेछ।
प्रतियोगितामा सन्देश फैलाउन विश्वका ६० मुलुकका नेपाली सहभागी हुनेछन्। अडिसन २५ जनवरीबाट सुरु हुनेछ र विभिन्न मुलुकमा गरिनेछ। यसका निर्णायकमा नेपाली संगीत र सिनेमा क्षेत्रका चर्चित व्यक्ति समावेश छन्।





























