खोटाङ, २ पुस । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका आगामी माघ २१ गते नगरस्तरीय चित्रकला प्रतियोगिता आयोजना गर्ने भएको छ। सरस्वती जयन्तीको अवसरमा “नगर प्रमुखसँग विद्यार्थी कार्यक्रम” अन्तर्गत आयोजना हुने यस प्रतियोगितामा “मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५” लाई थप प्रभावकारी बनाउने उद्देश्य राखिएको नगर प्रमुख तिर्थराज भट्टराईले जानकारी दिए।
प्रतियोगितामा नगरपालिका भित्रका सामुदायिक र संस्थागत विद्यालयका कक्षा १ देखि १२ सम्मका विद्यार्थीहरूले सहभागिता जनाउन सक्नेछन्। प्रतियोगिता “चित्रभित्रको चित्र र रङ भित्रको रङ खोज्ने” शीर्षकमा आयोजना हुनेछ। नगर प्रमुख भट्टराईका अनुसार यस प्रतियोगिताले विद्यार्थीहरूको व्यक्तित्व विकास गर्न र लुकेका प्रतिभाहरूलाई प्रोत्साहन गर्न मद्दत पुर्याउने अपेक्षा राखिएको छ।
प्रतियोगितामा सहभागी विद्यार्थीहरूले पेन्सिल रङ्ग, क्रेयन्स रङ्ग, पानी रङ्ग, वा पोस्टर रङ्ग प्रयोग गर्न सक्नेछन्। चित्र कोर्नका लागि १५-२२ इन्चको फ्रान्सेली कार्टिज पेपर वा क्यानभास प्रयोग गर्न भनिएको छ। प्रतियोगितामा मौलिक संस्कृति, रेडपाण्डा र थारको महत्व, पर्यावरण र मौसम परिवर्तनको प्रभावलाई चित्रमा समेटिएको विशेष प्राथमिकता दिइनेछ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः १५ हजार, १० हजार र ५ हजार रुपैयाँ नगद पुरस्कार, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ। यस्तै, तीन वटा सान्त्वना पुरस्कार क्रमशः ३ हजार, २ हजार र १ हजार रुपैयाँ रहेको छ। सहभागी विद्यार्थीहरूले विद्यालयको आधिकारिक पत्र र विद्यार्थी परिचयपत्र प्रतियोगिता सुरु हुनुभन्दा १५ दिन अगावै पेश गर्नुपर्ने छ।
नगरपालिकाले यसअघि “मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला” र “कला प्रदर्शनी” समेत सफलतापूर्वक आयोजना गरेको छ र यसपटक पनि नेपालमै पहिलो पटक राष्ट्रिय बाँस सम्मेलन, रेडपाण्डा र थार महोत्सव आयोजना गर्न लागेको छ।































