पोखरा, २ पुस। कास्की जिल्ला अदालतले पूर्व उपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप चार दिन थुनामा राख्न आदेश दिएको छ। सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछानेसहित पाँचै जनालाई थप अनुसन्धानका लागि थुनामा राख्न आदेश दिइएको हो।

लामिछानेसँगै पूर्व डीआईजी छविलाल जोशी, पोखराका कृष्ण गुरुङ, लीला पछाई र व्यवसायी रामबहादुर खनालसमेत अनुसन्धानको दायरामा रहेका छन्। लामिछानेलाई कात्तिक २ गते काठमाडौँबाट पक्राउ गरी कात्तिक ३ गते कास्की ल्याइएको थियो। कास्की जिल्ला अदालतले यसअघि पटक–पटक म्याद थप गर्दै अनुसन्धान अघि बढाएको छ।

पछिल्लोपटक प्रहरीले सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको छ। प्रतिवेदनमा ५१ जना प्रतिवादी रहेको र १ अर्ब ५१ करोड बिगो मागसहित मुद्दा चलाउन सिफारिस गरिएको छ। कास्की प्रहरीका सूचना अधिकारी डीएसपी वसन्तकुमार शर्माका अनुसार पुस ५ भित्र अभियोग पत्र दर्ता गर्नु पर्ने छ।

यसअघि अदालतले कात्तिक ४, ८, २०, २५, मंसिर ९, २३ र २७ मा क्रमशः विभिन्न अवधिका लागि म्याद थप गरिसकेको थियो। जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले प्रतिवेदन अध्ययन गर्न केही समय लाग्ने भएकाले म्याद थप गरिएको जानकारी दिएकी छिन्।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0