पोखरा, २ पुस। पोखरामा यही पुस १३ देखि १५ गतेसम्म (डिसेम्बर २८–३०) सञ्चालन हुने दोस्रो नेपाल–चीन मैत्रीपूर्ण ड्रागन बोट रेस प्रतियोगिताको तयारी तीव्र रूपमा अगाडि बढाइएको छ। पोखराको फेवातालमा महोत्सवका रूपमा आयोजना गर्न लागिएको यस प्रतियोगितामा नेपालका ११, मित्रराष्ट्र चीनका ८ र सिङ्गापुरको १ समूह गरी कुल २० समूहले प्रतिस्पर्धा गर्नेछन्।
गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको आयोजनामा तथा नेपाल ड्रागन बोट एसोसिएसन, पोखरा पर्यटन परिषद् र पोखरा ओभरसिज चाइनिज एसोसिएसनको सहआयोजनामा हुन गइरहेको प्रतियोगिताले विजेताहरूलाई आकर्षक नगद पुरस्कार प्रदान गर्नेछ। प्रथम स्थान प्राप्त गर्ने समूहले ५ हजार अमेरिकी डलर (नेपाली करिब ६ लाख ७९ हजार रुपैयाँ) पुरस्कार पाउनेछ भने दोस्रो र तेस्रो स्थानमा रहने समूहहरूले क्रमशः २ हजार डलर (नेपाली करिब २ लाख ७१ हजार रुपैयाँ) र १ हजार २ सय डलर (नेपाली करिब १ लाख ६३ हजार रुपैयाँ) पाउनेछन्। बाँकी १७ सहभागी समूहहरूलाई ५ सय डलर (नेपाली करिब ६८ हजार रुपैयाँ) का सान्त्वना पुरस्कार प्रदान गरिनेछ।
ड्रागन बोट रेस चीनमा अत्यन्त लोकप्रिय ऐतिहासिक खेल हो। पोखरामा यो प्रतियोगिता गत वर्षदेखि औपचारिक रूपमा सुरु गरिएको हो। फेवा र वेगनास तालमा सञ्चालन हुँदै आएको यो खेलमा दर्जनौँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समूहहरूले सहभागिता जनाउने गरेका छन्। पोखरामा यो खेल लोकप्रिय बन्दै गइरहेको आयोजकहरूको भनाइ छ।
पोखरामा आयोजना हुने यस प्रतियोगिताले नेपाल–चीन दुईपक्षीय सम्बन्धलाई थप मजबुत बनाउनुका साथै पोखराका तालहरूलाई आकर्षणको केन्द्रका रूपमा विकास गर्न सहयोग पुर्याउने विश्वास पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले व्यक्त गर्नुभएको छ। उहाँका अनुसार यस प्रतियोगिताले पोखराको पर्यटन विकासमा नयाँ सम्भावनाहरूको खोजीमा योगदान पुर्याउनेछ।

चिनियाँ राजदूतावासका डिसिएम वाङ सिले पोखराको पर्यटन प्रवर्द्धन र अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसारका लागि विभिन्न कार्यक्रमहरूसँग सहकार्य गर्न तत्पर रहेको बताउनुभएको छ। नेपाल–चीन सम्बन्धको लामो इतिहास रहेको उल्लेख गर्दै उहाँले पर्यटन, संस्कृति र भौतिक विकासका क्षेत्रमा सहकार्यलाई अझै बलियो बनाउने आफ्नो चाहना रहेको व्यक्त गर्नुभएको छ।
यो प्रतियोगिताले पोखरामा वाटर स्पोर्ट्सका लागि नयाँ सम्भावनाहरू सिर्जना गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। महोत्सवकै रूपमा सञ्चालन हुने यस खेलले पोखरा र वरपरको क्षेत्रमा पर्यटकहरूको चाप बढाउन सहयोग पुग्नेछ।

दोस्रो संस्करणको नेपाल–चीन मैत्रीपूर्ण ड्रागन बोट रेस पोखरालाई अन्तर्राष्ट्रिय स्तरमा थप परिचित गराउने माध्यम बन्ने विश्वास आयोजकहरूको छ। फेवातालको सुन्दरतामा थप रंगीनता थप्दै, खेलकुद र संस्कृतिको आदान–प्रदानलाई अगाडि बढाउने उद्देश्यका साथ यो प्रतियोगिता आयोजना गरिंदैछ।


























