पोखरा, पुस ७ । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले ऐतिहासिक जित हासिल गरेपछि पर्साको सखुवा प्रसौनी गाउँपालिकाले आइतबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ। गाउँपालिकाले शनिबार बसेको कार्यपालिका बैठकको निर्णयअनुसार स्थानीय बिदा दिने निर्णय गरेको हो।

पालिकाले जारी गरेको सूचनामा आइतबार सबै वडा कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्था र स्वास्थ्यचौकीमा अत्यावश्यकबाहेक अन्य सेवा बन्द रहने उल्लेख गरिएको छ। एनपीएलमा जनकपुरको जितले गौरव बढाएको भन्दै गाउँपालिकाले स्थानीयवासीसँग खुसीयाली साट्न बिदा दिएको बताएको छ।

जनकपुर बोल्ट्सले शनिबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा भएको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले हराउँदै पहिलो पटक एनपीएल उपाधि जितेको हो। मंसिर १६ गतेदेखि सुरु भएको प्रतियोगितामा आठ फ्रेन्चाइज टिमको सहभागिता थियो।

सखुवा प्रसौनी गाउँपालिकाले जनकपुर बोल्ट्सको ऐतिहासिक जितलाई समर्पित गर्दै स्थानीयस्तरमा यो बिदा महत्वपूर्ण हुने विश्वास व्यक्त गरेको छ। जनकपुरको उपाधिले मात्र होइन, यसले समग्रमा मधेस प्रदेशको पहिचान र गौरवलाई नयाँ उचाइमा पुर्‍याएको उल्लेख गरिएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0