काठमाडौं, पुस ७ । हनी ट्र्याप प्रकरणमा रकम असुलीको आरोप लागेकी निलम्बित प्रहरी निरीक्षक बिनु शाही आइतबार ललितपुर जिल्ला अदालतमा हाजिर भएकी छन्। अदालतका प्रवक्ता राम सजिवन महतोका अनुसार शाहीको उपस्थिति पछि आजै थुनछेक बहस सुरू हुने भएको छ।
भैँसेपाटी प्रहरी प्रभागकी इन्चार्ज रहेकी शाहीमाथि हनी ट्र्यापको माध्यमबाट ३० लाख रुपैयाँ असुली गरेको आरोप छ। यसै प्रकरणमा अदालतले यसअघि ताजमूल इस्लामलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो भने हवल्दार महेन्द्र हमाललाई तारेखमा र सुस्मा विकलाई दुई लाख धरौटीमा छोड्ने आदेश दिइएको थियो।
घटनाको प्रारम्भिक छानबिन डिएसपी नरहरि अधिकारीको नेतृत्वमा भएको थियो। समितिले शाहीसहितका आरोपीहरूमाथि मुद्दा चलाउन सिफारिस गरेको थियो। थप अनुसन्धानका लागि मुद्दा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) पठाइएको छ।
प्रकरणमा फरार रहेको अवस्थामा शाही र अर्का एक पुरुषले व्यवसायीलाई बलात्कारको मुद्दामा फसाउने धम्की दिँदै रकम असुली गरेको खुलेको थियो। अदालतमा उपस्थित भएसँगै अब यस मुद्दाको न्यायिक प्रक्रिया अघि बढ्नेछ।
































