पोखरा, ८ पुस । अल्बानियाका प्रधानमन्त्री एडी रामाले सामाजिक सञ्जाल टिकटकलाई एक वर्षका लागि प्रतिबन्ध गर्ने घोषणा गरेका छन्। गत महिना एक १४ वर्षीय विद्यालय विद्यार्थीको हत्यापछि सामाजिक सञ्जालले बालबालिकामा पार्ने प्रभावप्रति चिन्ता बढेपछि यस्तो निर्णय लिइएको हो।

शनिबार टिरानामा अभिभावक, शिक्षक र मनोवैज्ञानिकहरूसँगको भेटमा प्रधानमन्त्री रामाले यो प्रतिबन्ध आगामी जनवरीदेखि लागू हुने बताए। उनले टिकटकलाई “छिमेकको गुण्डा” को संज्ञा दिँदै यसको सामग्रीलाई “फोहर र कीच”को रूपमा परिभाषित गरे।

अल्बानियाको राजधानी टिरानाको दक्षिणमा रहेको विद्यालय नजिकै दुई विद्यार्थीबीचको झगडापछि एकजनाको हत्या र अर्का घाइते भएको घटनाको कारण सामाजिक सञ्जाल टिकटकलाई दोष दिइएको छ। टिकटकले भने उक्त घटनामा संलग्न विद्यार्थीहरूसँग आफ्नो कुनै सम्बन्ध नरहेको बताएको छ।

प्रधानमन्त्री रामाले टिकटकको प्रभावलाई चीनमा देखाइएको सामग्रीसँग तुलना गर्दै भने, “चीनमा टिकटकले विद्यार्थीहरूलाई अध्ययनमा सहयोग पुर्‍याउने, प्रकृति संरक्षणका उपाय सिकाउने र परम्परा जोगाउने सामग्री देखाउँछ। तर, अन्यत्र भने फोहर सामग्रीमात्र देख्न पाइन्छ। हामीलाई यस्तो सामग्री किन चाहिन्छ?”

यो निर्णयले अल्बानियामा सामाजिक सञ्जालको प्रभाव र यसको नियन्त्रणबारे थप बहस निम्त्याएको छ। टिकटकले प्रतिबन्धबारे स्पष्टीकरण माग्दै आफू शिक्षामूलक कार्यक्रमहरू सञ्चालन गर्न तयार रहेको जनाएको छ।

अन्तर्राष्ट्रिय स्तरमा पनि प्रतिबन्धको चर्चा
टिकटकमाथिको प्रतिबन्ध केवल अल्बानिया मात्र सीमित छैन। यसअघि भारत, इरान, अफगानिस्तान, नेपाल, र सोमालियामा टिकटक प्रतिबन्धित छ। अमेरिका, फ्रान्स, जर्मनी र बेलायतजस्ता देशहरूले पनि सामाजिक सञ्जालको प्रयोगमा विभिन्न प्रतिबन्ध लगाउन सुरु गरेका छन्।

अमेरिकामा टिकटकको चिनियाँ कम्पनी बाइटडान्ससँगको सम्बन्धलाई लिएर १९ जनवरीदेखि प्रतिबन्धको तयारी गरिएको छ। अमेरिकी सर्वोच्च अदालतले टिकटकको प्रतिबन्धमाथि कानुनी सुनुवाइ गर्न १० जनवरीको मिति तोकेको छ।

यसैगरी, अष्ट्रेलियाले १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउने विश्वकै कठोर नियम पारित गरेको छ। यो प्रतिबन्ध कार्यान्वयन गर्न कम्तीमा एक वर्ष लाग्ने बताइएको छ।

सामाजिक सञ्जाल र बालबालिकाको भविष्य
अल्बानियाले टिकटकमाथि प्रतिबन्ध लगाउने तयारीसँगै बालबालिकाको शिक्षालाई सशक्त बनाउन नयाँ कार्यक्रमहरू सञ्चालन गर्ने योजना ल्याएको छ। प्रधानमन्त्री रामाले अभिभावकहरूलाई आफ्ना बालबालिकाको डिजिटल यात्रामा सहयात्री बन्न आग्रह गरेका छन्।

टिकटक जस्ता सामाजिक सञ्जालले बालबालिकाको जीवनमा नकारात्मक प्रभाव पारेको आरोप लागिरहँदा विश्वका विभिन्न देशहरूले यस विषयमा ठोस कदम चाल्न थालेका छन्।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0