पोखरा, ९ पुस । बिबिसीका अनुसार हाइटीको राजधानी पोर्ट-अउ-प्रिन्सको एउटा अस्पतालमा दुई वर्षीया शाइना जीवन रक्षाका लागि सलाइनमा जोडिएकी छिन्। कुपोषणका कारण अत्यन्त कमजोर भएकी शाइनाको आमाले उपचारले उनलाई बचाउने आशा गरेकी छिन्। शाइनाजस्तै ७६०,००० बालबालिका भोकमरीको संघारमा छन्।

शाइनाकी आमा भेन्डा आफ्ना छोरीलाई अस्पताल ल्याउन हप्तौंसम्म डराएर घरभित्र थिइन्। ग्याङ युद्धको त्रासले उनलाई बाहिर निस्कन नदिएको थियो। अहिले अस्पतालमा छोरीको उपचार सुरु भएपछि उनले भनेकी छिन्, “म मेरी छोरीलाई गुमाउन चाहन्न। उचित उपचार चाहिन्छ।”

हाइटी सन् २०२१ मा राष्ट्रपति जोभेनेल मोइसको हत्या पछि बढ्दो ग्याङ हिंसामा फसेको छ। हाल राजधानीको ८५ प्रतिशत क्षेत्र ग्याङ नियन्त्रणमा रहेको अनुमान छ। हिंसाले यो वर्षमात्रै ५,००० जनाको ज्यान लिएको र देशलाई विघटनको संघारमा पु-याएको संयुक्त राष्ट्र संघले जनाएको छ।

अस्पतालभित्रै पनि हिंसाको असरबाट बिरामीहरू असुरक्षित छन्। केही दिनअघि आपतकालीन वार्डमै प्रहरीले ग्याङ सदस्यहरूसँग भिडन्त गरेको थियो। अस्पतालका एक वार्डमा गोली लागेका युवकहरूले भरिएको छ। तीमध्ये पियर पनि एक हुन्, जसलाई बाटोमा कामबाट फर्किंदै गर्दा ग्याङ युद्धको क्रसफायरले घाइते बनाएको थियो।

देशको युवा शक्तिलाई ग्याङमा सामेल हुनबाट रोक्न सरकारले केही गर्न नसकेको उनले बताए। “सरकार स्थिर भए युवाहरूलाई ग्याङमा जान प्रेरित गर्ने समस्या समाधान गर्न सकिन्थ्यो,” उनले भने।

बढ्दो हिंसालाई रोक्न संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्ले अक्टोबर २०२३ मा बहुराष्ट्रिय सुरक्षा सहयोग मिसन (एमएसएस) स्थापना गर्न अनुमति दिएको थियो। केन्याली नेतृत्वमा संचालित यो बलले हाइटीमा कानून र व्यवस्था पुनर्स्थापित गर्न जिम्मेवारी पाएको छ।

केन्याली अधिकारीहरूले राजधानीका परित्यक्त क्षेत्रमा गस्ती गरिरहेका छन्, जहाँ पसलहरू र घरहरू बन्द छन्। ग्याङहरूले सडकमा अवरोध खडा गरी पहुँच रोकेको छ। गस्तीका क्रममा बख्तरबन्द गाडीमाथि गोली प्रहार भएपछि प्रहरीहरूले जवाफी आक्रमण गरेका थिए।

केन्याली फौजका नेता गोडफ्रे ओतुङ्गेले जनताले उनीहरूको कामलाई समर्थन गरिरहेको बताएका छन्। तर उनीहरूको संख्याले हिंसा नियन्त्रणमा चुनौती थपेको छ। जुलाईमा हाइटी सरकारले देशभर १२,००० सशस्त्र ग्याङ सदस्य रहेको अनुमान गरेको थियो।

ग्याङहरूद्वारा राजधानीका केही क्षेत्र प्रवेश गर्नै असम्भव बनाइएको छ। वर्फ जेरिमी क्षेत्रमा एकै साता ग्याङ आक्रमणमा दुई सय जना सर्वसाधारणको ज्यान गएको थियो। १०० भन्दा बढी ग्याङ राजधानीमा सक्रिय छन्, जसमा ९ वर्षका बालकहरू पनि सामेल छन्।

ग्याङ नेताहरूले आफ्नो समूहलाई युवाहरूको रोजगारीको अभावले आकर्षित गरेको दाबी गरे पनि उनीहरूले देशको आर्थिक संकटलाई झन् जटिल बनाएको छ। उनीहरूका कारण नागरिकहरू काम गर्न घरबाट निस्कन डराउँछन् र बारम्बार फिरौतीका लागि अपहरणमा पर्छन्।

ग्याङ हिंसाबाट विस्थापित भएका ७ लाख नागरिकले विद्यालयहरूलाई अस्थायी शरणस्थल बनाएका छन्। आफ्ना पाँच सन्तानसँग क्याम्पमा शरण लिएकी नेगोसियन्टले भनिन्, “केही हप्ताअघि म आफ्नै घरमा थिएँ। तर ग्याङहरूले हाम्रो ठाउँ कब्जा गरे।”

हाइटीमा हिंसाको समस्या दिनप्रतिदिन जटिल बन्दै गएको छ। देशका बालबालिका अकाल मृत्युको जोखिममा छन् भने नागरिकहरूले आफ्ना जीवन रक्षाका लागि संघर्ष गरिरहेका छन्।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0