पोखरा, ९ पुस । दक्षिण कोरियाका अनुसन्धानकर्ताहरूले कम्मरभन्दा तलको भाग नचल्ने (प्याराप्लेजिक) व्यक्तिहरूलाई हिँड्न, भर्याङ चढ्न र दैनिक जीवनका अन्य क्रियाकलापमा सहजता प्रदान गर्ने अत्याधुनिक रोबोट विकास गरेका छन्। कोरिया एडभान्स्ड इन्स्टिच्युट अफ साइन्स एन्ड टेक्नोलोजी (केएआईएसटी) को एक्सोस्केलेटन ल्याब टोलीले यो हल्का वजनको लगाउन मिल्ने रोबोट निर्माण गरेको हो।

वाकअन सुट एफ१ नामले चिनिने यो रोबोटले प्रयोगकर्तालाई ३.२ किलोमिटर प्रति घण्टाको गतिमा हिँड्न, भर्याङ चढ्न र साइड स्टेप गरेर बस्न मद्दत गर्छ। केएआईएसटी टोलीका सदस्य किम सेउङ-ह्वान, जो स्वयं प्याराप्लेजिक हुन्,ले रोबोटको प्रोटोटाइप सार्वजनिक रूपमा प्रदर्शन गरे। उनले भने, “यो रोबोट मलाई उठ्न मद्दत गर्दछ, जुन यसको मुख्य विशेषता हो। यसलाई म आफैँ सजिलै लगाउन सक्छु।”

५० किलोग्राम तौलको यो पावर्ड एक्सोस्केलेटन एल्युमिनियम र टाइटेनियमबाट निर्मित छ। यसमा जडित १२ वटा इलेक्ट्रोनिक मोटरहरूले मानव जोडाहरूको चाल नक्कल गर्छन्। साथै, रोबोटको सेन्सरहरूले प्रति सेकेन्ड १,००० सिग्नलहरू अनुगमन गरी प्रयोगकर्ताको चाल र सन्तुलन सुनिश्चित गर्दछ।

टोलीका अनुसन्धानकर्ता पार्क जङ-सुले आफू ‘आइरन म्यान’ फिल्मबाट प्रेरित भएको बताए। उनले भने, “त्यो फिल्म हेरेपछि मलाई वास्तविक जीवनमा यस्ता रोबोटहरू बनाएर मानिसहरूको जीवन सहज बनाउन मन लाग्यो।”

यो रोबोटको अगाडिको भागमा रहेको लेन्सले आँखाको रूपमा काम गर्छ। यसले वरपरको वातावरण विश्लेषण गरी भर्याङको उचाइ र अन्य अवरोध पहिचान गर्दछ। यसले पूर्ण प्याराप्लेजिक प्रयोगकर्ताहरूको संवेदनाको अभावलाई पूर्ति गर्ने भूमिका खेल्छ।

किमले २०२४ को साईबाथलन प्रतियोगितामा वाकअन सुट एफ१ लगाएर एक्सोस्केलेटन विधामा स्वर्ण पदक जितेका थिए। यो प्रतियोगितामा विभिन्न अपांगताका अनुसन्धानकर्ताहरूले आठ विधामा सहायक रोबोटहरूको प्रदर्शन गरेका थिए। किमले भने, “म आफ्नो छोरोलाई भन्न चाहन्छु कि म पनि एक समय हिँड्न सक्थें। यो रोबोटले मलाई फेरि उभिन र हिँड्न सहयोग गरेको छ।”

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0