पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा कास्की जिल्ला अदालतमा बयान सकिएको छ। न्यायाधीश नीतिज राईको इजलासमा बिहीबार र शुक्रबार लामिछानेले आफूमाथि लगाइएका आरोप खण्डन गर्दै बयान दिएका हुन्।
अदालतका स्रेस्तेदार राजन खनालका अनुसार लामिछानेको बयान शुक्रबार साँझ ५ बजे समाप्त भएको हो। खनालले भने, “बयानपछि उहाँ र न्यायाधीश दुवैले सहीछाप गर्नुभएको छ।” बयानका क्रममा लामिछानेले अभियोगपत्रमा लगाइएका सबै आरोपलाई अस्वीकार गर्दै आफू निर्दोष भएको र यो मुद्दा राजनीतिक प्रतिशोधस्वरूप लगाइएको दाबी गरेका छन्।
गत कात्तिक २ गते पोखराको सूर्यदर्शन सहकारी रकम अपचलन अभियोगमा पक्राउ परेका लामिछाने ७० दिनदेखि कास्की प्रहरी हिरासतमा छन्। उनलाई सहकारी ठगीसहित संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा प्रतिवादी बनाइएको छ।
अब हिरासतमा रहेका अन्य चार जना प्रतिवादीको बयान हुनेछ। प्रतिवादी रामबहादुर खनालको बयान आइतबारदेखि सुरु हुने कास्की जिल्ला सरकारी वकिल कार्यालयकी न्यायाधिवक्ता कमला काफ्लेले बताइन्। यसअघि पूर्व डिआईजी छविलाल जोशी र लीला पछाईंको बयान सकिएको थियो।
सूर्यदर्शन सहकारी संस्थाको रकम अपचलन प्रकरणमा २०८० असोज १८ मा सहकारीका संस्थापक अध्यक्ष जिबी राईसहित १९ जनाविरुद्ध मुद्दा दायर भएको थियो। पछिल्लो पूरक अभियोगपत्रमा लामिछानेसहित थप ४४ जनालाई प्रतिवादी बनाइएको छ। तीमध्ये ३१ व्यक्ति, ८ कम्पनी, र ५ जनाको सम्पत्ति जफतका लागि थप अभियोजन गरिएको छ।
कुल ६३ प्रतिवादीविरुद्ध १ अर्ब ५१ करोड ४० लाख १९ हजार १ सय ९४ रुपैयाँ बिगो कायम गरिएको मुद्दामा थुनछेक बहसपछि थुनामा राख्ने, धरौटीमा रिहा गर्ने, वा साधारण तारेखमा छोड्ने आदेश आउनेछ।




























