मुम्बई । भारतीय चलचित्र उद्योगमा २०२४ वर्षले केही प्रमुख व्यावासिक रेकर्ड तोडेको छ भने थुप्रै चलचित्रहरू भने अपेक्षाअनुसार सफल हुन सकेनन्। यस वर्षको व्यावासिक सफलता र असफलता दुवैका चर्चित चलचित्रहरूको सूची यस समयमा सार्वजनिक गरिएको छ।
२०२४ को सबैभन्दा बढी व्यापार गर्ने चलचित्रको रेकर्ड बलिउडमा स्त्री २ ले कायम गरेको छ। राजकुमार राव र श्रद्धा कपुरको मुख्य भूमिका रहेको यो चलचित्रले भारतमा मात्र ६२७ करोड रुपैयाँको व्यापार गरेको छ, जसले अहिलेसम्मको सबैभन्दा ठूलो घरेलु व्यापारको रेकर्ड तोडेको छ। यसैगरि, दक्षिण भारतीय चलचित्र उद्योगमा पुष्पा २: द रूल ले आफ्नो कमाल देखाएको छ। अल्लु अर्जुनको यो चलचित्रले २१ दिनको अवधिमा भारतमा ११९०.८५ करोड रुपैयाँको व्यापार गरेको छ, जुन अहिलेसम्मकै सबैभन्दा ठूलो व्यापार हो। पुष्पा २ को हिन्दी संस्करणले ७१६ करोडको व्यापार गर्दा यसलाई ८०० करोडको माइलस्टोन पार गर्ने अनुमान गरिएको छ।
यस्तै, हनुमान नामक चलचित्रले ६ करोडको बजेटमा निर्माण भएर ५८ करोडको व्यापार गरेर एक चमत्कार प्रस्तुत गरेको छ। त्यस्तै, मुन्ज्या चलचित्रले १५ करोडको लागतमा १०८ करोडको व्यापार गरेर एक नयाँ उदाहरण प्रस्तुत गरेको थियो।
साथै, कल्की २८९८ एडी जस्तो ठूलो बजेटको चलचित्रले ७५५ करोडको व्यापार गरेर एक रेकर्ड बनाएको छ। यसले हिन्दी संस्करणमा ३२९ करोडको व्यापार गरेको थियो, जसले यसलाई सुपर हिटको सूचीमा स्थान दिलायो।
यद्यपि, २०२४ मा केही प्रमुख चलचित्रहरू व्यावासिक असफल भए। सिंघम रिटर्न्स जस्तो ठूलो बजेटको चलचित्रले २७४ करोडको व्यापार मात्र गरेर यसको लगानी उठाउन सकेन। यसको अलावा, भूल भूलैया ३ ले २८१ करोडको व्यापार गरे पनि यो चलचित्र हिटको मानकमा पुग्न सकेन।
सानो बजेटको विक्की विद्याको ओ वाला भिडियो जस्तो चलचित्रले ४४ करोडको व्यापार गरे पनि यसले अपेक्षाअनुसार ठूलो सफलता प्राप्त गर्न सकेन। यस वर्षको अन्य थुप्रै चलचित्रहरू पनि व्यावासिक दृष्टिकोणले असफल साबित भए, जसमा देवरा, जिग्रा, भेडा, सरफिरा, इन्डियन २ लगायतका चलचित्रहरू समावेश छन्।
सुपरस्टार अभिनेता सलमान खान, शाहरुख खान, र आमिर खान जस्ता नामचिनिएका कलाकारका चलचित्रहरू पनि २०२४ मा बक्स अफिसमा ठूलो प्रभाव छोड्न असफल भए। यस वर्ष भारतीय चलचित्र उद्योगमा केवल थोरै चलचित्रहरूले राम्रो व्यापार गरेको छ भने बहुसंख्यक चलचित्रहरू व्यावासिक रूपमा असफल भएका छन्।



























