पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएको दुई वर्ष पुरा भएको छ। गत १ जनवरी, २०२३ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भव्य समारोहबीच विमानस्थलको उद्घाटन गरेका थिए। उद्घाटनको बेला धेरै आशा र उत्साहका साथ सुरु भएको विमानस्थलमा हालको अवस्थामा ऋणको भारी बढेको छ। विमानस्थलबाट नियमित रूपमा अन्तर्राष्ट्रिय उडानहरू संचालन हुन सकेका छैनन् र यहाँका उडानहरू अधिकांश चार्टर्ड उडानमा मात्र सीमित छन्। यद्यपि आन्तरिक उडान नियमित रूपमा चलिरहेका छन्।
पोखरा विमानस्थलको क्षमता र यसको प्रभावकारिता बारे मिडियामा आएका केही नकारात्मक हल्लालाई खारेज गर्दै हालै चीनको छेन्कुबाट सिचुआन एयरलाइन्सको ‘एयरबस ३१९’ जहाजले पोखरा विमानस्थलमा १२९ यात्रु सहित सफल अवतरण गर्यो। केही समयपछि सोही विमान काठमाडौंतर्फ उडेको थियो। यसले पोखरा विमानस्थलको क्षमता र सुरक्षा प्रणालीलाई प्रमाणित गरेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले पोखरा विमानस्थलमा कुनै प्राविधिक समस्या नरहेको बताए।
गण्डकी प्रदेशका पर्यटन मन्त्री कृष्णप्रसाद बस्यालले पोखरा विमानस्थललाई गण्डकी प्रदेशवासीको आशा र भरोसा भएको बताएका छन् र नियमित अन्तर्राष्ट्रिय उडानको लागि जोड दिने बताएका छन्। पोखरा पर्यटन परिषद्का निवर्तमान अध्यक्ष पोमनारायण श्रेष्ठले राम्रो गृहकार्य गरेमा पोखराबाट अन्तर्राष्ट्रिय उडान सफल हुने विश्वास व्यक्त गरेका छन्।
अधिकारका अनुसार, पोखरा विमानस्थलबाट सञ्चालन भएका ११ अन्तर्राष्ट्रिय उडानहरू मध्ये सिचुआन एयरलाइन्सका तीन चार्टर्ड उडानहरू प्रमुख छन्। यसका अतिरिक्त चीन, भुटान र भारतबाट पनि चार्टर उडान भएको छ।

































