वैज्ञानिक अनुसन्धानले मानिसको शरीरबाट निस्कने गन्ध उमेरसँगै परिवर्तन हुने पत्ता लगाएको छ। गन्धमा हुने यस्तो जैविक परिवर्तनले सामाजिक विकासक्रममा महत्त्वपूर्ण भूमिका खेलेको ठानिन्छ। शरीरको गन्धको यो क्रमिक विकासले व्यक्ति पहिचान, सम्बन्ध निर्माण, र जैविक आकर्षणमा पनि असर पुर्याउँछ।
बाल्यकालमा हल्का गन्ध
बाल्यकालमा शरीरको गन्ध मन्द र सुखद हुने गर्छ। यो समयमा पसिनाका ग्रन्थिहरू कम सक्रिय हुन्छन्, जसले गर्दा बालबालिकाको गन्धको स्रोत केवल छालामा रहेका सूक्ष्म जीवाणुहरूको गतिविधि मात्र हुन्छ। बाबुआमाले आफ्ना बच्चाको गन्ध चिन्न सक्छन् र त्यो गन्ध अरू बच्चाको तुलनामा मन पराउँछन्। यसले बाबुआमा र बच्चाबीचको सम्बन्ध बलियो बनाउन सहयोग पुर्याउँछ।
किशोरावस्थाको गन्ध
किशोरावस्थामा प्रवेश गर्दा शरीरमा विशेष प्रकारका गन्ध देखा पर्छन्। यौन होर्मोनको सक्रियताले पसिनाका ग्रन्थिहरूले बढी प्रोटिन र लिपिड उत्पादन गर्छन्, जसलाई छालाका सूक्ष्म जीवाणुहरूले विभिन्न गन्धयुक्त यौगिकहरूमा परिवर्तन गर्छन्। किशोरावस्थामा शरीरबाट आउने गन्ध तीव्र र प्रायः “अमिलो” प्रकारको हुने कारण यिनै जैविक प्रक्रिया हुन्। यो गन्ध किशोर-युवाको सामाजिक र जैविक पहिचानको एक हिस्सा हो।
वयस्क र बुढ्यौलीको गन्ध
वयस्क अवस्थामा पसिनाका ग्रन्थिहरूले उत्पादन गर्ने सेबम, लिपिड, र एन्टिअक्सिडेन्ट यौगिकहरूको सन्तुलन उच्चतम अवस्थामा पुग्छ। तर, उमेर बढ्दै जाँदा यी उत्पादनमा कमी आउँछ। छालाको कोलाजेन घट्नाले छाला पतला हुन्छ, जसले पसिनाको उत्पादन र शरीरको गन्धमा परिवर्तन ल्याउँछ। ४० वर्षको उमेरपछि शरीरले २-नोनेनल नामक यौगिक उत्पादन गर्न थाल्छ, जसले विशेष प्रकारको “पुरानो” गन्ध उत्पन्न गर्छ। यो गन्ध जापानी भाषामा “कारेशू” भनेर चिनिन्छ।
गन्ध र सामाजिक प्रभाव
शरीरको गन्धले व्यक्तिको उमेर मात्रै होइन, अन्य जैविक र सामाजिक जानकारी पनि दिन सक्छ। यसले नातेदारको पहिचान, साथी चयन, र लिङ्गको जानकारी प्रदान गर्न महत्त्वपूर्ण भूमिका खेल्छ। अध्ययनहरूले उमेर अनुसार गन्धको प्राथमिकतामा पनि फरक देखाएका छन्। आमाबाबुले आफ्ना बच्चाको बाल्यकालको गन्ध मन पराउँछन्, तर जब बच्चा वयस्क बन्छन्, तिनको गन्ध कम मनपराउने पाइएको छ। यसलाई जैविक रूपमा अनाचार रोक्नको एउटा प्रक्रिया मानिन्छ।
बुढेसकालको गन्ध र नियन्त्रणका उपाय
बुढेसकालमा हुने गन्ध सरसफाइको अभाव होइन, शरीरभित्रको जैविक परिवर्तनको परिणाम हो। यो गन्ध पानीमा नघुल्ने भएकाले साधारण नुहाइले हटाउन सकिँदैन। तथापि, यसलाई कम गर्न स्वस्थ जीवनशैली महत्त्वपूर्ण देखिएको छ। पर्याप्त पानी पिउनु, तनाव घटाउनु, स्वस्थ आहार लिनु, र मदिरा तथा चुरोट जस्ता अस्वस्थ बानी हटाउनु गन्ध कम गर्ने उपायहरू हुन्।
गन्धको महत्त्व
चार्ल्स डार्बिनले गन्ध सुँघ्ने क्षमतालाई कम महत्त्वपूर्ण भने पनि अध्ययनहरूले यसको महत्त्वलाई प्रमाणित गरेका छन्। गन्धले व्यक्तिगत र सामाजिक सूचनाहरू प्रदान गर्न भूमिका खेल्ने देखिएको छ। यो क्षमता खासगरी अँध्यारो र कोलाहलयुक्त वातावरणमा उपयोगी हुन्छ, जहाँ अन्य इन्द्रिय सीमित हुन्छन्।
गन्धले उमेरसँगै हुने परिवर्तनहरूको संकेत मात्रै दिँदैन, सम्बन्ध निर्माण र जैविक चेतनामा पनि महत्त्वपूर्ण भूमिका खेल्छ।
































