सन् २०२४ को साहित्यिक यात्राले विभिन्न लेखकका विचार, कथा, र चिन्तनहरूको सन्देश प्रवाहित गर्‍यो। यो वर्षका उत्कृष्ट पुस्तकहरूले मानव जीवनका अनेक पक्षलाई छुने प्रयास गरेका छन्। चाहे आख्यान होस् वा गैरआख्यान, लेखकहरूले विशिष्ट शैलीमा आफ्नो कथा प्रस्तुत गरेका छन्। यसै सन्दर्भमा, विश्वका प्रतिष्ठित पत्रिकाहरू, ब्लग, र समीक्षाहरूले २०२४ का केही विशेष पुस्तकहरूलाई उठान गरे।

युवल नोआ हरारीको ‘नेक्सस’ वर्षकै प्रभावशाली पुस्तकहरूमा गणना गरिन्छ। “नेक्सस: अ ब्रिफ हिस्ट्री अफ् इन्फर्मेशन नेटवर्क्स फ्रम द स्टोन एज टु एआई” मा हरारीले सूचनाको इतिहास र यसको शक्ति प्रस्तुत गरेका छन्। ढुंगे युगदेखि एआईसम्म मानिसले सूचनाको सहारामा आफ्नो उन्नति गर्‍यो तर यसले सधैं सत्यलाई पर्गेल्छ भन्ने ग्यारेन्टी छैन भन्ने उनको निष्कर्ष छ। यसले मानिसहरूलाई शक्ति प्रदान गरे पनि मानवीय उन्नतिमा यो सहयोगी हो भन्ने निस्कर्ष निकाल्न कठिन हुने हरारीको दाबी छ।

ग्याब्रियल गार्सिया मार्खेजको अधुरो कृति ‘अन्टिल अगस्ट’ २०२४ मा पाठक सामु आएको अर्को चर्चित उपन्यास हो। मग्दलेना नामकी महिला पात्रको निजी संघर्ष र स्वतन्त्रताको खोजीलाई केन्द्रीय विषय बनाएको यो उपन्यासमा मार्खेजको विशिष्ट शैली झल्किन्छ। यद्यपि यो कृति लेखकको अधुरो प्रयासको परिणति हो, समीक्षात्मक दृष्टिकोणले यसलाई सन्तोषजनक बिदाइ भनेको छ।

सलमान रुस्दीले आफ्नो व्यक्तिगत अनुभवमा आधारित ‘नाइफ: मेडिटेसन्स अफ्टर एन एटेम्प्टेड मर्डर’ प्रस्तुत गरेका छन्। हत्या प्रयासमा परेर बाँचेपछि उनले जीवन र मृत्युका अनौठा पक्षबारे विचार गरेका छन्। पुस्तकले उनको आघात र आत्मविश्लेषणको गहिराइलाई प्रस्तुत गर्दछ। साहित्य र व्यक्तिगत अनुभवको संगम भएको यस कृतिले पाठकलाई गहिरो असर पुर्‍याएको छ।

रुसी विपक्षी नेता अलेक्सिई नाभाल्नीको ‘पाट्रियट’ यस वर्षको अर्को महत्त्वपूर्ण गैरआख्यान हो। पुटिन शासनको भ्रष्टाचार र दमनको चिरफार गर्दै, नाभाल्नीले आफ्नो संघर्षको दस्तावेज प्रस्तुत गरेका छन्। हिरासत र विषपानको पीडा झेल्दै पनि उनले न्याय र स्वतन्त्रताको पक्षमा आवाज उठाउने अडानलाई पुस्तकले जीवन्त ढंगले चित्रण गरेको छ।

यसका अतिरिक्त, स्पटिफाइको इतिहास र यसको सांगीतिक प्रभावलाई केन्द्रमा राखेर लेखिएको लिज पेलीको ‘मुड मेसिन’ पनि लोकप्रिय बन्यो। यसले संसारभरि संगीत सुन्ने बानी र प्रविधिमा ल्याएको परिवर्तनलाई विश्लेषण गर्दछ।

स्पेनी निर्देशक पेड्रो अल्मोदोभारको कथा संग्रह ‘द लास्ट ड्रिम’ ले विभिन्न सामाजिक मान्यतामाथि प्रहार गरेको छ। धार्मिक व्यक्ति, यौनकर्मी, पप संस्कृति, र भूतप्रेतलाई कथाको केन्द्रमा राख्दै, उनले मानवीय इच्छाशक्ति र यसका सीमाहरूको गहिरो अध्ययन गरेका छन्।

स्याली रुनीको नयाँ आख्यान ‘इन्टरमेज्जो’ दाजुभाइको सम्बन्ध, शोक, र प्रेमको जटिलता चित्रण गर्ने उत्कृष्ट कृति हो। आधुनिक समाजका तनाव र पारिवारिक सम्बन्धको गहिरो मनोविज्ञानले पाठकलाई गहिराइमा पु¥याएको छ।

यी सबै पुस्तकहरूले सन् २०२४ लाई साहित्यिक दृष्टिले स्मरणीय बनाएका छन्। लेखकहरूले आफ्ना कथा र अनुभवका माध्यमबाट पाठकहरूलाई सोच्न बाध्य तुल्याएका छन्। आख्यान र गैरआख्यानको सन्तुलनसहितका यी कृतिहरूले विश्व साहित्यलाई समृद्ध बनाउने काम गरेका छन्।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0