काठमाडौं, १४ पुस। नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अर्काको काँधमा चढेर सत्ता सञ्चालन गर्ने युग समाप्त भएको दाबी गरेका छन्। आइतबार पर्सामा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले नेपाली राजनीतिमा विगतमा देखिएको अस्थिरताबारे टिप्पणी गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लक्षित गर्दै कटाक्ष गरेका हुन्।

प्रधानमन्त्री ओलीले नेपाली कांग्रेससँग अहिलेको सरकार गठबन्धन नभइ समीकरण भएको उल्लेख गर्दै यसको उद्देश्य मुलुकको स्थायित्व र विकास रहेको बताए। उनले विगतमा सुरु गरिएका तर अलपत्र परेका विकासका परियोजनाहरूलाई अघि बढाउने जिम्मा एमाले नेतृत्वले लिने विश्वास दिलाए।

“अहिलेको सरकार एमाले र कांग्रेसको साझेदारी हो, जसले मुलुकलाई राजनीतिक स्थिरता र विकासको मार्गमा अघि बढाउनेछ,” उनले भने। ओलीले ठूला पार्टीहरूबीचको झगडाबाट लाभ उठाउँदै भ्रष्ट तत्वहरूले सत्ता चलाउने परिपाटी अन्त्य गर्न वर्तमान समीकरणको आवश्यकता रहेको बताए।

उनले भने, “काँधमा चढेर म्याजिक नम्बरको खेल खेल्दै मनपरितन्त्र चलाउने दिन अब गए। देशको अस्थिरता हटाउन एमाले नेतृत्व कटिबद्ध छ।”

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0