काठमाडौं महानगरपालिका–१ दरबारमार्गस्थित महेन्द्र शालिक नजिक रहेको लिक्विड लन्च बारमा ६ पुस राति भएको आक्रमण घटनामा तरुण दलका केन्द्रीय सदस्यसहित आठ जना विरुद्ध ज्यान मार्ने उद्योगको कसुरमा अनुसन्धान सुरु भएको छ।
आक्रमणमा बैतडीका ३६ वर्षीय रमेश भट्टलाई आठ जनाको समूहले निर्घात कुटपिट गरेका थिए। गम्भीर घाइते भट्टलाई तत्काल उपचारका लागि ट्रमा सेन्टर पुर्याइएको थियो। अनुसन्धानमा, भट्ट गृहमन्त्री रमेश लेखकका नातेदार भएको खुलेको छ।
घटनापछि प्रहरीले आठै जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेहरूमा तरुण दलका केन्द्रीय सदस्य कुलध्वज तामाङ, काभ्रेका अध्यक्ष सुजन तामाङ, पब्लिक युथ क्याम्पसका स्ववियु उपसभापति मिलन लामा, भुम्लु गाउँपालिकाका सदस्य सुलभ पहरी, तरुण दल काभ्रेका सदस्य युवराज लामा, मोरङका डम्बरबहादुर कार्की, तरुण दल सिन्धुपालचोकका दावा तामाङ, र काभ्रेको शक्ति लामा छन्।
काठमाडौं प्रहरी परिसरका अनुसार, घाइतेको अवस्था र अभियुक्तहरूको विगतको आपराधिक इतिहासलाई ध्यानमा राख्दै ज्यान मार्ने उद्योगको मुद्दा दर्ता गरिएको छ। केही अभियुक्तहरूको विगतमा पनि अपराधका घटनामा संलग्नता देखिएको छ।
कुलध्वज तामाङमाथि २०६९ सालमा ज्यान मार्ने उद्योगमा दरबारमार्ग प्रहरी वृत्तबाट मुद्दा दर्ता भएको थियो। २०७२ सालमा उनी चोरी मुद्दामा दोषी ठहर भई ११ महिना जेलमा बसेका थिए। त्यस्तै, सुजन तामाङमाथि पनि यसअघि ज्यान मार्ने उद्योगको मुद्दा ललितपुर प्रहरी परिसरबाट दर्ता भइसकेको छ।
प्रहरीका अनुसार, यी अभियुक्तहरूमध्ये केही बारम्बार अपराधमा संलग्न हुँदै आएका छन्। घटनाको सम्पूर्ण अनुसन्धान भइरहेको छ, र दोषीहरूलाई कानुनी कारबाही गरिनेछ।





























