पोखरा, १५ पुस । पोखरा अहिले महोत्सवको रमाइलोमा डुबेको छ। फेवातालदेखि लेकसाइडसम्म विविध गतिविधिले यो सहरलाई नयाँ रौनक दिएको छ। पुष ९ गतेबाट सुरु भएको अन्तर्राष्ट्रिय बलुन महोत्सवले पोखराको आकाशलाई बहुरंगी बनाएको छ। बलुन नेपाल प्रालिले ७ करोड रुपैयाँको लगानीमा आयोजना गरेको यो महोत्सवले पर्यटकलाई रोमाञ्चक अनुभव प्रदान गरेको छ। फेवा ताल किनारबाट उडाइएका बलुनहरूले माछापुच्छ्रे, अन्नपूर्ण, पुम्दिकोट महादेव, र पोखरा उपत्यकाको दृश्यावलोकन गराइरहेका छन्।
बलुन महोत्सव नेपालमा पहिलोपटक आयोजना गरिएको हो। यसमा नेपालसहित अमेरिका, बेलायत, फ्रान्स, स्पेन, लिथुआनिया, थाइल्यान्ड, भियतनाम, कोरिया, नेदरल्यान्ड्स, जापान, मलेसिया, इटाली, ब्राजिल, र अस्ट्रेलियाका पाइलटहरूको सहभागिता छ। १७ वटा हट एयर बलुनले पोखराको आकाशलाई नौ दिनसम्म रंगीन बनाउनेछन्। बिहान ५ बजेदेखि ९ बजेसम्म र दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म बलुन उडान गरिन्छ।

पुष १७ सम्म चल्ने यो महोत्सव पोखराको पर्यटन ब्राण्डिङको उद्देश्यसहित आयोजना गरिएको हो। महोत्सवका संयोजक तारानाथ पहारीका अनुसार यसले साहसिक खेलकुदमा पोखराको पहिचानलाई अझै मजबुत बनाउने विश्वास गरिएको छ। पर्यटकलाई नयाँ अनुभव दिन बेलुनबाट फेवातालदेखि सूर्योदय र सूर्यास्तको मनमोहक दृश्य देख्न सकिन्छ। बलुन उडानका लागि नेपाली नागरिकलाई ११ हजार रुपैयाँ शुल्क तोकिएको छ भने विदेशी पर्यटकलाई १२० देखि १५० डलर शुल्क निर्धारण गरिएको छ।
त्यस्तै, लेकसाइडको चार किमि क्षेत्रमा २६औं पोखरा सडक महोत्सव पनि पुष १७ सम्मै सञ्चालन हुँदैछ। ‘सडकमै खाऔं, सडकमै रमाऔं’ भन्ने नाराका साथ आयोजना भएको यो महोत्सवले पोखरालाई थप पर्यटकमुखी बनाएको छ। महोत्सवमा सांस्कृतिक झाँकी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शनी, दोहोरी प्रतियोगिता, र रात्रीकालीन कन्सर्टले दर्शकलाई मनोरञ्जन प्रदान गरिरहेको छ।

सडक महोत्सवले पोखराको ‘ब्राण्ड’को रूपमा आफ्नो स्थान बनाएको छ। महोत्सव संयोजक विकास भट्टराईका अनुसार यसले पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ। महोत्सवमा मःम खाने प्रतियोगिता, रस्साकसी, वेटर वेट्रेसहरूको चम्चा दौड जस्ता रमाइलो कार्यक्रम पनि समावेश गरिएका छन्।
फेवातालमा भइरहेको ड्रागन बोट रेसले पनि पोखरालाई जल पर्यटनको नयाँ क्षितिजमा पुर्याएको छ। २० समूहको सहभागितामा आयोजना गरिएको यो प्रतियोगिता दोस्रो संस्करण हो। नेपाल र चीनका समूहहरूका साथै सिङ्गापुरका खेलाडीहरूले प्रतिस्पर्धा गरिरहेका छन्। विजेता टोलीले ५ हजार अमेरिकी डलर पुरस्कार पाउनेछन्। यो प्रतियोगिताले नेपालको जल खेलकुदमा नयाँ सम्भावना सिर्जना गरेको छ।

गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री बिन्दुकुमार थापाका अनुसार यस्ता गतिविधिले प्रदेशको पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन सहयोग पु¥याउनेछन्। फेवातालमा ड्रागन बोट रेस गत वर्षदेखि सुरु भएको हो। यसले नेपाल-चीन सम्बन्धलाई अझ बलियो बनाउने अपेक्षा गरिएको छ।
पोखरामा जारी यी महोत्सवहरूले जल, आकाश, र जमिनलाई एकसाथ महोत्सवमय बनाएका छन्। नयाँ वर्षको अवसरलाई रमाइलो बनाउने यी गतिविधिहरूले पोखरालाई साहसिक खेलकुदको केन्द्रका रूपमा स्थापित गर्न थप बल पुर्याएको छ।

































