काठमाडौं, १५ पुस । नेकपा एमालेबाट निष्कासनमा परेका नेता डा. भीम रावलले पुस १७ गते नयाँ पार्टी घोषणा गर्ने भएका छन्। एमालेले उनलाई पुस १० गते पार्टीको संगठित सदस्यबाट हटाउने निर्णय गरेपछि रावल राजनीतिक रूपमा नयाँ यात्राको तयारीमा जुटेका हुन्।

रावलनिकट स्रोतका अनुसार बुधबार दिउँसो १ बजे काठमाडौंको कार्की बैंक्वेटमा पत्रकार सम्मेलनमार्फत पार्टी घोषणा गरिने छ। नयाँ पार्टी गठनको घोषणा गर्नुभन्दा अघि रावलले विभिन्न राजनीतिक व्यक्तित्वहरूसँग भेटघाटलाई तीव्रता दिएका छन्।

सोमबार बिहान उनले नेपाली कांग्रेस (बीपी)का उपसभापति कर्ण मल्ल र सुदूरपश्चिम प्रदेश सभाका स्वतन्त्र सांसद डा. तारा जोशीसँग भेटवार्ता गरेका थिए। भेटघाटमा रावलले अन्यायमा परेका राजनीतिकर्मीहरूलाई एक ठाउँमा ल्याई बलियो शक्ति निर्माण गर्ने प्रस्ताव राखेको स्रोतले जनाएको छ।

कर्ण मल्ल नेपाली कांग्रेसका वरिष्ठ नेता र डडेल्धुराका पूर्वसभापति हुन्। उनी कांग्रेस सभापति शेरबहादुर देउवासँगको सम्बन्ध बिग्रिएपछि कांग्रेस (बीपी)तिर लागेका थिए। तारा जोशी भने नेकपा एकीकृत समाजवादीका पूर्वकेन्द्रीय सदस्य हुन्, जो २०७९ को निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेर सुदूरपश्चिम प्रदेश सभामा निर्वाचित भएका थिए।

रावलको नयाँ पार्टीले एमालेबाट असन्तुष्ट, कांग्रेसबाट बिच्किएका तथा स्वतन्त्र राजनीतिकर्मीलाई एक ठाउँमा ल्याएर नयाँ राजनीतिक ध्रुवीकरण गर्ने लक्ष्य राखेको अनुमान छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0