CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 60

काठमाडौं, १५ पुस । ‘पहाडकी रानी’ भनेर परिचित बन्दीपुरको पर्यटन प्रवर्द्धन गर्न बन्दीपुर गाउँपालिकाले सन् २०२५ लाई ‘बन्दीपुर भ्रमण वर्ष’ का रूपमा मनाउने घोषणा गरेको छ। पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना, र आर्थिक गतिविधि थप चलायमान बनाउने उद्देश्यसहित भ्रमण वर्षको घोषणा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा गरियो।

भ्रमण वर्ष सफल बनाउन गाउँपालिकाले पर्यटन व्यवसायी वैश गुरुङको संयोजकत्वमा २१ सदस्यीय भ्रमण वर्ष सचिवालय गठन गरेको छ। सचिवालयमा होटल संघ, रेस्टुरेन्ट तथा बार एसोसिएसन, पर्यटन विकास समिति, उद्योग वाणिज्य संघ, र होमस्टे महासंघको प्रतिनिधित्व रहेको छ।

गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाका अनुसार भ्रमण वर्षमा वार्षिक २ लाख पर्यटक बन्दीपुरमा ल्याउने लक्ष्य राखिएको छ। यसमध्ये १ लाख आन्तरिक र १ लाख विदेशी पर्यटकको सहभागिता सुनिश्चित गर्न योजना तयार पारिएको छ। साथै, आगामी तीन वर्षमा वार्षिक ८ लाख पर्यटक बन्दीपुर ल्याउने दीर्घकालीन लक्ष्य पनि राखिएको छ।

भ्रमण वर्ष अवधिमा पर्यटकको औसत बसाइ तीन दिन र विदेशी पर्यटकको दैनिक खर्च ७५ अमेरिकी डलर पुर्‍याउने लक्ष्य छ। नेपाली पर्यटकको औसत खर्च भने दैनिक तीन हजार रुपैयाँ राखिएको छ। हाल बन्दीपुरमा १२० होटल र १२ होमस्टे सञ्चालनमा रहेका छन्, जसले दैनिक १,७०० पर्यटकलाई सेवा दिन सक्छ।

सचिवालय संयोजक वैश गुरुङका अनुसार भ्रमण वर्षमा कम्तीमा पाँच नयाँ पर्यटन गन्तव्य पहिचान, विकास र प्रवर्द्धन गरिने छ। पर्यटकीय सुविधायुक्त होमस्टे सर्किट निर्माण तथा सांस्कृतिक, धार्मिक, र ग्रामीण पर्यटन सर्किट प्रवर्द्धन गर्ने योजना रहेको छ।

भ्रमण वर्ष कार्यक्रमका लागि ४ करोड ४३ लाख ५० हजार रुपैयाँ अनुमानित बजेट तयार पारिएको छ। यो बजेट संघ, प्रदेश र स्थानीय सरकारका साथै राष्ट्रिय र अन्तर्राष्ट्रिय संस्थाको सहकार्यबाट जुटाइनेछ।

गाउँपालिकाले ‘गाउँमै कमाऔं, गाउँमै रमाऔं’ अभियान अन्तर्गत पर्यावरण संरक्षण र जनसहभागितालाई प्राथमिकतामा राखेको छ। याम अनुसारका प्याकेज निर्माण गरी पर्यटकको उमेर र रुचि अनुसारको अनुभव प्रदान गरिनेछ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0