काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि गम्भीर आरोप लगाउँदै गिरीबन्धु टि-स्टेटमा भएको भ्रष्टाचार र अन्य अनियमितताहरूको पर्दाफास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। झापा ५ को गौरीगञ्ज गाउँपालिकामा आयोजित नेकपा (माओवादी केन्द्र) को दोस्रो गाउँ सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले ओलीलाई “जाली, झेली, कपटी र बेइमान” व्यक्ति भएको टिप्पणी गरे।

प्रचण्डले गिरीबन्धु टि-स्टेट प्रकरण र नक्कली भुटानी शरणार्थी काण्डमा अनुसन्धान सुरु गर्नासाथ आफूलाई प्रधानमन्त्रीबाट हटाइएको दाबी गरे। उनले ओलीले आफ्नो सत्ता टिकाउन विभिन्न जालझेल गरेको र आफ्नो सरकारले भ्रष्टाचारविरुद्धको कदम चाल्न थालेपछि तानाशाही प्रवृत्तिबाट हटाइएको आरोप लगाए।

उनले भने, “म गिरीबन्धु टि-स्टेट र ओम्नी, वाइडबडी प्रकरणमा ओलीको भूमिका सार्वजनिक गरेरै छोड्छु। नेपाली जनताको रगत र पसिनाले प्राप्त उपलब्धि कसैले खोस्न सक्दैन।” संविधान संशोधनका लागि माओवादी केन्द्रको नैतिक अधिकार रहेको उल्लेख गर्दै प्रचण्डले आदिवासी जनजाति, मधेसी, महिला र अन्य वर्गका अधिकार थप्न संविधानमा आवश्यक परिवर्तन गरिने बताए।

उनको भनाइले राजनीतिक वृतमा नयाँ चर्चा ल्याएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0