काठमाडौँ। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले १,०६३ मेगावाटको माथिल्लो अरुण जलविद्युत आयोजना निर्माणका लागि विश्व बैंक र एडीबीबाट वित्तीय व्यवस्थापन नभए नेपाली जनताको लगानीमा निर्माण गरिने बताएका छन्। प्राधिकरणले परियोजनालाई मिश्रित लगानी (ब्लेन्डेड फाइनान्सिङ) को नमूना परियोजना बनाउन खोजेको बताउँदै उनले सरकार, प्रदेश, स्थानीय तह, प्रभावित क्षेत्रका जनतालगायत स्वदेशी तथा अन्तर्राष्ट्रिय स्रोतहरूबाट लगानी जुटाउने योजना रहेको उल्लेख गरे।

उनले आयोजनाको फाइनान्सिङको प्रक्रिया अन्तर्राष्ट्रिय विकास साझेदारहरूबाट असारभित्र पूरा हुने अपेक्षा राखिए पनि त्यसो हुन नसके स्वदेशी बैंक र जनता स्वयंको लगानीमा निर्माण कार्य अघि बढाइने बताए। आयोजनास्थलमा आवश्यक निर्माण पूर्व तयारी पूरा भइसकेको र सुरुङ मार्ग लगायतका काम सुरु भएको जानकारी दिँदै उनले आयोजनाको लागि ५३ अर्बको सम्झौता भइसकेको जनाए।

कार्यकारी निर्देशक घिसिङले माथिल्लो अरुणलाई नेपालको ऊर्जा क्षेत्रमा गेमचेन्जर आयोजनाको रूपमा हेर्ने बताए। उनले दुधकोशी ६७० मेगावाट आयोजनाको तयारी सकिएको र ट्रान्समिसन लाइनहरू क्रमिक रूपमा सम्पन्न हुँदै विद्युत आपूर्ति र निर्यातलाई थप सुदृढ बनाउने योजनामा रहेको बताए। बुटवलदेखि बर्दघाटसम्मको ट्रान्समिसन लाइन सम्पन्न भइसकेको र मस्र्याङ्दी करिडोर आगामी जेठसम्म सक्ने लक्ष्य राखिएको पनि उनले उल्लेख गरे।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0