पोखरा। गुरुङ समुदायले पुस १५ का दिन तमु ल्होसार मनाउँदै नयाँ वर्षको रूपमा सर्प वर्षलाई स्वागत गरेका छन्। तमु ल्होसार केवल नयाँ वर्षको सुरुआत मात्र नभई सामूहिक रूपमा नयाँ अन्न चाख्ने पर्वका रूपमा पनि मनाइन्छ। यो पर्व गुरुङ समुदायको संस्कृति, परम्परा र प्रकृतिसँग जोडिएको मुख्य चाड हो।
गुरुङ अगुवा हरि गुरुङका अनुसार तमु ल्होसार हरेक पुस १५ मा निश्चित रूपमा मनाइने चलन छ। यस पर्वमा हरेक वर्षको नाम विभिन्न जनावरका नामबाट राख्ने परम्परा रहेको छ। यस वर्ष गरुड वर्षलाई बिदाइ गरी सर्प वर्षलाई स्वागत गरिएको हो। तमु ल्होसारको अवसरमा गुरुङ समुदायका किशोरकिशोरीदेखि वृद्धवृद्धासम्मले परम्परागत भेषभूषामा विभिन्न सांस्कृतिक कार्यक्रमहरू आयोजना गरेका छन्।

तमु ल्होसारका साथसाथै नेपालमा तामाङ समुदायले सोनाम ल्होसार र शेर्पा समुदायले ग्याल्बो ल्होसार मनाउने प्रचलन छ। यी सबै ल्होसार पर्वमा मुसा, गाई, बाघ, सर्प, घोडा, भेडा, चरा, कुकुरजस्ता बाह्र वर्गका पशुपक्षीका नाममा वर्ष गणना गरिन्छ। अनुसन्धाताहरूका अनुसार ल्होसार पर्व प्रकृति पूजामा आधारित छ।
गुरुङ समुदायले तमु ल्होसारलाई केवल धार्मिक चाड मात्र नभई सामाजिक, सांस्कृतिक तथा आर्थिक प्रगतिका रूपमा पनि लिने गरेका छन्। तमु जातिको गुरुले आदिमकालमै यो पर्व सूर्य र पृथ्वीको सम्बन्धलाई आधार मानी निर्धारण गरेको बताइन्छ। पुस १४ मा गएको वर्षलाई बिदाइ र पुस १५ मा नयाँ वर्षलाई स्वागत गर्न निधारमा सेतो टीका लगाई शुभकामना आदानप्रदान गर्ने परम्परा आज पनि निरन्तरता पाएको छ।






























