१६ पुस, काठमाडौं। नेपालमा ब्रोकर कम्पनीहरूको संख्या बढ्दै गए पनि कारोबारको दायरा र सेवाको विविधतामा उल्लेखनीय सुधार नआएकाले नयाँ ब्रोकर कम्पनीहरूले कार्यालय सञ्चालन खर्च धान्न कठिनाइ भोगिरहेका छन्। नेपाल धितोपत्र बोर्डले डेढ वर्षअघि नयाँ ब्रोकर कम्पनीलाई लाइसेन्स जारी गरेपछि हालसम्म कुल ९० ब्रोकर कम्पनी क्रियाशील भए पनि कारोबार सीमित हुँदा कम्पनीहरूलाई चुनौती थपिएको छ।
नयाँ कम्पनीहरूले सीमित कार्यक्षेत्रमै पुरानै शैलीमा काम गर्नुपर्ने अवस्था छ। स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकालका अनुसार, नयाँ ब्रोकर कम्पनीलाई टिक्न सेवाको विविधता र दायरामा सुधार गर्नुपर्ने खाँचो छ। सेयर बजारमा इन्ट्राडे कारोबार, मार्जिन कारोबार, पोर्टफोलियो सेवा जस्ता सुविधा थप गर्न सके मात्रै नयाँ कम्पनीले प्रतिस्पर्धा गर्न सक्ने अवस्था छ।
हाल ९० ब्रोकर कम्पनीमध्ये करिब एक दर्जनको दैनिक कारोबार २ करोडभन्दा कम छ। सामान्य रूपमा कार्यालय सञ्चालन खर्च धान्न पनि कम्पनीहरूले दैनिक ४ करोडको कारोबार गर्नुपर्नेमा कतिपय कम्पनीको कारोबार दैनिक १ करोडभन्दा कम रहेको सञ्चालकहरूले बताएका छन्। ब्रोकर कम्पनीको मुख्य आम्दानी सेयर कारोबारबाट प्राप्त हुने कमिसनमा आधारित छ। हालको कमिसन दरले दैनिक खर्च चलाउन नसकिने उनीहरूको गुनासो छ।
पुराना कम्पनीले २० करोडको चुक्ता पूँजी पनि पुर्याउन नसकिरहेका बेला नयाँ कम्पनीहरूलाई तोकिएको पूँजी पुर्याएर व्यापार विस्तार गर्न कठिन भइरहेको छ। यस सन्दर्भमा नेपाल धितोपत्र बोर्डले पूँजी पुर्याउन नसक्ने कम्पनीहरूलाई मर्जर वा एक्विजिसनको विकल्प अपनाउन कार्ययोजना पेस गर्न भनेको छ।
मर्जर तथा एक्विजिसन प्रक्रियालाई सहज बनाउन आवश्यक निर्देशिका बनाउन बोर्डले तयारी गरिरहेको जनाएको छ। बोर्डका प्रवक्ता निरञ्जय घिमिरेका अनुसार, निर्देशिका कार्यान्वयनमा आएपछि कम्पनीहरूले मर्जर तथा एक्विजिसनको प्रक्रियालाई सहजताका साथ अगाडि बढाउन सक्नेछन्।
सञ्चालकहरूका अनुसार, नयाँ कम्पनीले पूँजी अभाव र सीमित कार्यक्षेत्रकै कारण नोक्सानी बेहोर्नुपरेको छ। कतिपयले अन्य क्षेत्रबाट आम्दानी गरी कार्यालय सञ्चालन गर्न बाध्य छन्। अध्यक्ष ढकालले ब्रोकर कम्पनीले गर्ने कार्यको दायरा विस्तार गरिनुपर्ने र नीतिगत व्यवस्थामा सुधार गरिनुपर्ने औंल्याए।

































