धनगढी । सुदूरपश्चिम प्रदेशमा प्राविधिक शिक्षा अध्ययन गर्ने विद्यार्थीको संख्या ह्वात्तै घटेको छ। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) का विभिन्न डिप्लोमा तहका कार्यक्रमहरूमा भर्ना दर हरेक वर्ष घट्दै गएको पाइएको छ।

शैक्षिक सत्र २०७९ मा सुदूरपश्चिमका ५४ कलेजले ८० वटा डिप्लोमा तहका कार्यक्रम सञ्चालन गरेका थिए। तीन हजार ४९८ कोटा रहेका ती कार्यक्रमहरूमा केवल दुई हजार ४७२ विद्यार्थी भर्ना भएका थिए। यसरी कोटाको ३० प्रतिशत पद खाली रहेको थियो। चालु शैक्षिक सत्रमा कलेजहरूको संख्या ३५ मा झरेको छ भने ६२ वटा कार्यक्रमबाट दुई हजार ७१६ विद्यार्थी भर्ना हुने लक्ष्य राखिए पनि एक हजार ७३७ विद्यार्थी मात्रै भर्ना भएका छन्। यो संख्या कुल कोटाको ६४ प्रतिशत मात्रै हो।

डिप्लोमा तहमा स्वास्थ्य क्षेत्रका नर्सिङ, जनरल मेडिसिन र फार्मेसीजस्ता कार्यक्रमलाई भने विद्यार्थीको रुचि कायमै रहेको सिटिइभिटी प्रादेशिक कार्यालय धनगढीका उपनिर्देशक देवसिंह धामीले बताए। तर, कृषि, भेटेरिनरी, सिभिल इन्जिनियरिङ, होटल व्यवस्थापन, र मेडिकल ल्याब टेक्नोलोजीजस्ता विषयहरूमा विद्यार्थी संख्या ह्वात्तै घटेको उनले उल्लेख गरे।

विद्यार्थीको रुचिमा आएको परिवर्तनले धेरैजसो प्राविधिक कलेज र कार्यक्रम बन्द हुनुपरेको छ। धामीका अनुसार तीन वर्षे प्राविधिक कार्यक्रम पढेर पनि रोजगार नपाउने र स्वरोजगारसमेत बन्न नसक्ने जनशक्तिले विद्यार्थीको आकर्षण घटाएको हो। साथै, सिटिइभिटीका अनुसार कक्षा १२ पास गरेपछि विदेश जाने मोहले पनि डिप्लोमा तहको प्राविधिक शिक्षामा गिरावट ल्याएको छ।

सिटिइभिटीका उपनिर्देशक धामीले शैक्षिक संस्थाको संख्या आवश्यकता भन्दा बढी भएकाले पनि समस्या उत्पन्न भएको उल्लेख गरे। गाउँले क्षेत्रमा स्वरोजगारका अवसर नबढेको र प्राविधिक शिक्षाले तत्काल आर्थिक लाभ दिन नसक्दा विद्यार्थी र अभिभावकको सोच परिवर्तन भएको उनले बताए।

धामीले डिप्लोमा तहका प्राविधिक कार्यक्रमहरूलाई प्रभावकारी बनाउन रोजगारमुखी तालिमहरू सञ्चालन गर्नुपर्ने र विदेश मोह घटाउन नीतिगत सुधार आवश्यक रहेको बताए।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0