भोजपुर। भोजपुरका किसानहरुले अब व्यावसायिक लोठसल्ला खेतीमा मनोयोगपूर्वक लागेका छन्। राम्रो आम्दानी हुने सम्भावना देखिएपछि कृषकहरुले औषधिजन्य बहुउपयोगी जडीबुटी लोठसल्लाको खेती गर्न थाल्नुभएको हो। जिल्लाको लेकाली भेगमा लोठसल्लाको खेती गरिँदै आएको छ र अब यसलाई व्यावसायिक स्तरमा विस्तार गरिएको छ।
आमचोक गाउँपालिका २ का सात जना कृषक मिलेर व्यावसायिक रूपमा लोठसल्ला खेती गरिरहेका छन्। यस खेतीको उद्देश्य बाँझो र अनउपयोग जमिनको सदुपयोग गर्दै किसानको आय आर्जनमा वृद्धि गर्नु हो। कृषक सन्तोष चौलागाँइका अनुसार तीन सय रोपनी जमिनमा लोठसल्ला खेतीको विस्तार गरिएको छ र अहिले सम्म १८ हजार विरुवा रोपिएका छन्। यस कार्यलाई थप विस्तार गर्ने लक्ष्य रहेको उनी बताउँछन्। कृषकहरुले सुरुमा आफ्नै लगानीमा खेती थालेको भए पनि हाल राज्यको तर्फबाट केहि सहयोग पाएकोमा उनीहरु खुशी छन्।
वन कार्यालयका अधिकृत कपिलदेव अधिकारीका अनुसार, गत आर्थिक वर्षमा चार लाख पाँच हजार रुपैयाँ सहयोग प्रदान गरिएको थियो जसले किसानलाई थप उत्साहित बनाएको छ। यस खेतीलाई नमूनायोग्य कामका रूपमा लिइएको छ। भोजपुरको विभिन्न स्थानमा लोठसल्लाको खेती सम्भावनायुक्त रहेको बताइएको छ, विशेष गरेर आमचोक, टेम्केमैयुङ, खावा, लेखर्क लगायतका स्थानमा यसको खेती बढी सफल भइरहेको छ।
लोठसल्ला औषधिजन्य गुण भएका बहुउपयोगी जडीबुटी हो, जसका पात र डाँठलाई क्यान्सर जस्तो घातक रोगको औषधि बनाउन प्रयोग गर्न सकिन्छ। वन कार्यालयका अनुसार, यसका पातलाई चियामा समेत प्रयोग गर्न सकिन्छ। लोठसल्ला खेतीका लागि समुद्र सतहदेखि २,००० देखि ३,५०० मिटरको उचाइ उपयुक्त मानिन्छ।
लोठसल्ला खेतीको विस्तारमा जोड दिनु आवश्यक रहेको र यस खेतीलाई नमूनायोग्य कामको रुपमा लिइएको कुरा जिल्ला समन्वय समिति भोजपुरका प्रमुख कमल थुलुङले बताए। उनले यो खेतीले बाँझो जमिनको सदुपयोगसँगै किसानलाई राम्रो आम्दानी दिलाउने अवसर प्रदान गर्ने विश्वास व्यक्त गरे। प्रमुख थुलुङले आमचोकमा गएर खेतीको स्थलगत अनुगमन गरेपछि कृषकहरुको प्रयासलाई सकारात्मक रुपमा मूल्याङ्कन गरेका छन्।
































