खोटाङ। खोटाङको जन्तेढुङ्गा गाउँपालिकाले जिल्लामा पहिलो निःशुल्क आवासीय विद्यालय सञ्चालनमा ल्याएको छ। यो विद्यालय विशेषगरी गरिब, दलित, असहाय र विद्यालयबाट टाढा रहेका बालबालिकाहरूको शैक्षिक पहुँच सुनिश्चित गर्ने उद्देश्यले स्थापना गरिएको हो। गाउँपालिका–३ काहुलेस्थित लक्ष्मी माध्यमिक विद्यालयलाई आवासीय विद्यालयको रूपमा रूपान्तरण गरिएको हो।

पहिलो चरणमा १९ जना विद्यार्थीहरूको भर्ना गरिएको विद्यालयले निःशुल्क आवासीय शिक्षा कार्यक्रम सुरु गरेको छ। विद्यालयका प्रधानाध्यापक कृष्णबहादुर राईका अनुसार यस शैक्षिक सत्रमा १५ जना छात्र र ४ जना छात्रा सहभागी भएका छन्। विद्यालयमा बालकक्षादेखि कक्षा ९ सम्मका विद्यार्थीहरू भर्ना भएका छन्।

गाउँपालिका अध्यक्ष अरुणादेवी राई ‘दिक्षा’का अनुसार, विद्यार्थीहरूलाई खाना, खाजा, लत्ताकपडा र शैक्षिक सामग्रीसहित निःशुल्क आवासको व्यवस्था गरिएको छ। यस कार्यक्रमले विशेषगरी बाबुआमा नभएका, असहाय, गरिब र दलित बालबालिकाहरूलाई शिक्षाको अवसर प्रदान गर्न उद्देश्य राखेको छ।

विद्यालयमा शैक्षिक गुणस्तर सुनिश्चित गर्नका लागि दुईजना शिक्षक र एकजना कर्मचारीको व्यवस्था गरिएको छ। उपाध्यक्ष खेमबहादुर खड्काका अनुसार, शिक्षक र कर्मचारीले विद्यार्थीहरूको शैक्षिक र व्यक्तिगत विकासमा सहयोग गर्नेछन्। यसका अतिरिक्त, विद्यालयका अभिभावक र समुदायका सदस्यहरूले पनि सहयोगको हात बढाएका छन्।

विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष रमिला राईका अनुसार, अभिभावकहरूले तिहारको समयमा देउसी-भैलो खेलेर ४ लाख ७४ हजार ४० रुपैयाँ संकलन गरेका छन्। यसले विद्यालयको आवासीय कोषलाई बलियो बनाएको छ।

यद्यपि, आवासीय विद्यालय सञ्चालनका लागि उपयुक्त भवनको अभाव रहेको समितिकी अध्यक्ष राईले बताइन्। सुविधायुक्त भवनको अभावका कारण अहिले विद्यार्थीहरूलाई अस्थायी रुपमा टिनको छानामा म्याट्रेस राखेर राखिएको छ।

खोटाङ जिल्लाको पहिलो निःशुल्क आवासीय शिक्षा कार्यक्रमको उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य रामकुमार राई ‘पासाङ’ले सामुदायिक विद्यालयलाई आवासीय विद्यालयका रूपमा रुपान्तरण गर्नुपर्ने महत्त्वमा जोड दिएका छन्। यस कार्यक्रमले आर्थिक अभावका कारण शिक्षाबाट बञ्चित हुने बालबालिकाहरुलाई ठूलो राहत पुर्याउने विश्वास गरिएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0