काठमाडौं, १६ पुस। नेपाल कम्युनिष्ट पार्टी (एनसीपी) ले क्रान्तिकारी ध्रुवीकरणलाई तीव्रता दिने निर्णय गरेको छ। गत मङ्सिर २७ देखि पुस २ गतेसम्म कपिलवस्तुमा बसेको पार्टीको नवौँ केन्द्रीय समितिको छैटौँ पूर्ण बैठकले तत्काल विचार मिल्ने अन्य राजनीतिक दलसँग सहकार्य गर्ने निर्णय गरेको पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले पत्रकार सम्मेलनमा जानकारी दिए।
बैठकले आगामी २०८४ को निर्वाचनलाई राष्ट्रिय स्वाधीनता, उत्पीडित वर्ग, जाति, समुदाय, महिला, युवा, विद्यार्थी र समाजवादको पक्षमा प्रयोग गर्ने निर्णय गरेको छ। यसका लागि पार्टीले आगामी चुनावमा उपयुक्त चुनाव चिह्नका साथ जनताको बीचमा सन्देश प्रवाह गर्ने योजना बनाएको छ। महासचिव चन्दका अनुसार, पार्टीले जनपरिचालन कार्यक्रमलाई तीव्रता दिने निर्णय गरेको छ, जसमा आगामी फागुन २१ गतेदेखि झापा–कञ्चनपुर क्षेत्रमा व्यापक जनसम्पर्क अभियान सञ्चालन गरिनेछ।
पार्टीले भ्रष्टाचार, वैदेशिक हस्तक्षेप, सुकुम्बासी समस्या र मिटरब्याज जस्ता प्रमुख सामाजिक मुद्दामा सरकारलाई जवाफदेही बनाउन पनि तयारी गरेको छ। बैठकले आत्मनिर्भरतासहित समृद्धि हासिल गर्नका लागि नयाँ आर्थिक मार्गको विचारलाई अघि बढाउने निर्णय गरेको छ। साथै, कृषि उत्पादनमा वृद्धि गर्दै उद्योग सञ्चालनको अध्ययन शुरु गर्न र काठमाडौं उपत्यकामा ‘सी व्यापार केन्द्र’ सञ्चालन गर्ने निर्णय पनि भएको छ।































