काठमाडौं, १६ पुस। सन् २०२४ को वर्ष प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षाका लागि चुनौतीपूर्ण रह्यो। समाचार लेखेका कारण पत्रकारमाथि धम्की, गिरफ्तारी र हत्या गर्नेसम्मका घटनाले प्रेस स्वतन्त्रता र अभिव्यक्तिको प्रश्न उठाएको छ। नेपाल पत्रकार महासंघका अनुसार, यस वर्ष प्रेस स्वतन्त्रता हननका ६० वटा घटनाका अभिलेख गरिएको छ। यो संख्या विगतका वर्षहरूको तुलनामा वृद्धि भएको छ।

सन् २०२३ मा प्रेस स्वतन्त्रता हननका ५८ र सन् २०२२ मा ५३ वटा घटनाहरू दर्ता भएका थिए। यस वर्ष भएका ६० घटनामा ३४ महिला र ११३ पुरुष पत्रकार प्रभावित भएका छन्। यति मात्र होइन, १३ वटा सञ्चार संस्था पनि यस्ता घटनाबाट प्रभावित भएका छन्। त्यसैगरी, हालैको सुरेश भुलको हत्या घटनाले प्रेस स्वतन्त्रता र सुरक्षा सम्बन्धी गम्भीर प्रश्न उठाएको छ। प्रारम्भिक अनुसन्धानमा यो घटना लक्षित हत्या जस्तो देखिन्छ। पत्रकार गोपाल दाहाललाई समाचार लेखेका कारण ज्यान लिनेसम्मको धम्की सामना गर्नुपरेको छ। महासंघले यसका लागि मिडिया मिसन पठाउनुपर्ने आवश्यकता औंल्याएको छ।

सन् २०२४ मा प्रेससम्बन्धी कानुनी संरचना पनि अपेक्षाअनुसार पूरा हुन सकेन। लामो समयदेखि प्रतीक्षारत मिडिया काउन्सिल विधेयक अझै पूर्णता प्राप्त गर्न सकेको छैन। यस्तै, सरकारले सूचना प्रविधि विधेयक र सामाजिक सञ्जाल व्यवस्थापन विधेयक ल्याउने तयारी गरे पनि प्रेस स्वतन्त्रता र सुरक्षा सुनिश्चित गर्नका लागि यो कस्तो प्रभावकारी हुन्छ भन्ने प्रश्न उठेको छ।

नेपाल पत्रकार महासंघले सरकारसँग सञ्चारसम्बन्धी कानुनी सुधारको माग गर्दै आएको छ र प्रेस तथा अभिव्यक्तिको स्वतन्त्रता र पत्रकारहरूको सुरक्षामा सरकारलाई प्रतिबद्ध हुन आह्वान गरेको छ। महासंघले प्रेस स्वतन्त्रताको हननका घटनामा सत्यतथ्य छानबिन गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेको छ। साथै, प्रेससम्बन्धी कानुनलाई मिडियामैत्री र संविधानको मर्मसँग मिल्दो बनाउन सरकारलाई आग्रह गरिएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0