पोखरा, १७ पुस । कास्की जिल्ला अदालतमा मंगलबार सूर्यदर्शन सहकारी ठगी प्रकरणमा थुनछेक बहस चलिरहेका बेला वातावरण भावुक बन्न पुग्यो। ८० वर्षीय प्रतिवादी कृष्णबहादुर गुरुङले आफू निर्दोष रहेको बताउँदै इजलासमै आँसु झारेपछि बहस स्थगित गर्नुपरेको हो। उनलाई भूपू गोर्खा सैनिक तथा मुटुका बिरामीका रूपमा चिनिन्छ।
गुरुङले आफूलाई बिनाकारण प्रतिवादी बनाइएको भन्दै गहभरि आँसु पार्दै “म यहीँ मर्न सक्ने” अभिव्यक्ति दिएका थिए। सो क्रममा उनकी छोरी तथा पूर्वसांसद मीना गुरुङ पनि भावुक हुँदै रोएकी थिइन्। इजलासमा छाएको सन्नाटाका कारण कार्यालय समय नसकिँदै थुनछेक बहस रोकिन पुगेको हो।
मंगलबार दिउँसो आरती गुरुङको बयान पूरा भएपछि थुनछेक बहस सुरु भएको थियो। जिल्ला सरकारी वकिल कार्यालयका शान्तिदेवी शर्माले कृष्णबहादुरको नाम लिएपछि घटना थप भावुक बन्यो। सूर्यदर्शन सहकारीको ५३ लाख ७६ हजार रुपैयाँ ठगीको आरोपमा कृष्णबहादुर र मीना गुरुङसहित ७ प्रतिवादीमाथि अनुसन्धान भइरहेको छ।
मीना गुरुङ २०७४ सालको प्रदेशसभा निर्वाचनमा एमालेको समानुपातिक सांसद भएकी थिइन्। सहकारीकी पूर्वउपाध्यक्षसमेत रहेकी मीना २०६५ सालमा संस्थामा जोडिएकी थिइन्। तर, सहकारीको आर्थिक अपचलन प्रकरण बाहिर आउन थालेपछि उनले राजीनामा दिएकी थिइन्।
सहकारी प्रकरणमा हालसम्म ६३ जनालाई प्रतिवादी बनाइएको छ। त्यसमध्ये ३१ व्यक्ति, ८ कम्पनी र ५ जनाको सम्पत्ति जफतको मागसहित कास्की जिल्ला अदालतमा मुद्दा दायर भएको छ। १ अर्ब ५१ करोड ४० लाख रुपैयाँ बिगो दाबी गरिएको छ।
थुनछेक बहस शुक्रबारसम्म सक्ने तयारी भइरहेको कास्की अदालतले जनाएको छ। न्यायाधीश नीतिज राईको इजलासले प्रतिवादीहरूमाथि थुनामा पठाउने, धरौटी वा साधारण तारेखमा रिहा गर्ने निर्णय लिनेछ।
































