बीबीसीका अनुसार, युक्रेनमार्फत यूरोपेली संघ (ईयू) देशहरूमा ग्यास आपूर्ति गर्ने रूसको पाँच वर्षे सम्झौता यही बुधबारदेखि समाप्त हुँदैछ। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आफ्नो देशलाई “रगतबाट रूसले थप अर्बौं कमाउने अवसर दिन नसकिने” बताएका छन्। उनले ईयूलाई यस अवस्थासँग जुध्न एक वर्षअघि नै तयारी गर्न भनेका थिए।

यूरोपेली आयोगले यूरोपको ग्यास प्रणाली लचिलो र स्थायित्वपूर्ण रहेको बताउँदै युक्रेनमार्फत ग्यास आपूर्ति रोकिए पनि समस्या नआउने उल्लेख गरेको छ। तर, यो निर्णयले केही पूर्वी यूरोपेली राष्ट्रहरूलाई असर पर्नेछ, जसले अझै पनि रूसको ग्यासमा ठूलो निर्भरता राख्दै आएका छन्।

सन् २०२३ मा यूरोपमा आयात गरिने कुल ग्यासको १० प्रतिशतभन्दा कम हिस्सा रूसको ग्यासबाट आएको थियो। यो आँकडा २०२१ मा ४० प्रतिशत थियो। यद्यपि, स्लोभाकिया र अस्ट्रियाजस्ता देशहरूले अझै पनि रूसबाट ठूलो मात्रामा ग्यास आयात गर्दै आएका छन्।

युक्रेनको यो निर्णयले स्लोभाकियासँगको सम्बन्धमा तनाव सिर्जना गरेको छ। स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोले मास्कोमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गरेपछि युक्रेनलाई बिजुली आपूर्ति रोक्ने धम्की दिएका छन्। यसप्रति राष्ट्रपति जेलेन्स्कीले “फिकोले युक्रेनलाई कमजोर पार्न र युद्धको लागि रूसलाई सहयोग गरिरहेको” आरोप लगाएका छन्।

यसैबीच, पोल्याण्डले स्लोभाकियाले बिजुली रोक्ने सम्भावित परिस्थितिमा युक्रेनलाई सहयोग गर्ने वचन दिएको छ। रूसले युक्रेनको ऊर्जा पूर्वाधारलाई बारम्बार आक्रमण गर्दै आएकाले बिजुली आपूर्ति युक्रेनका लागि महत्वपूर्ण रहेको छ।

मोल्डोभालाई समेत युक्रेनमार्फत ग्यास आपूर्ति बन्द हुने निर्णयले गम्भीर असर पुर्याउन सक्नेछ। यो ग्यासले मोल्डोभाको मुख्य पावर प्लान्टलाई चलाउन प्रयोग गरिन्थ्यो। मोल्डोभाले आपतकालीन ऊर्जा योजना कार्यान्वयन गरेको छ भने नागरिकलाई ऊर्जा बचत गर्न आह्वान गरेको छ।

युरोपले वैकल्पिक स्रोतबाट ग्यास आपूर्ति सुनिश्चित गर्न प्रयास गरेको छ। नर्वे, कतार, र अमेरिकाबाट ल्याइएको एलएनजी तथा ट्रान्स-बाल्कन मार्गबाट ग्रीस, टर्की र रोमानियाको ग्यासले युरोपको ऊर्जा आवश्यकतालाई पूरा गर्ने योजना रहेको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0