१७ पुस, काठमाडौं । जागरुक युवा अभियान नेपालको आयोजनामा १२औं राष्ट्रिय पोशाक तथा टोपी दिवस आज विशेष कार्यक्रम गरी मनाइँदै छ। नेपाली संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले २०७० सालदेखि मनाउन थालिएको यो दिवसले दौरा-सुरुवाल, टोपी र गुन्यु चोलीजस्ता राष्ट्रिय पोशाकलाई युवामाझ लोकप्रिय बनाउन भूमिका खेलेको छ।

पाटन दरबार क्षेत्रमा आयोजना हुने कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्रीप्रसाद पाण्डेसहित विशिष्ट व्यक्तिहरू सहभागी हुनेछन्। ‘नेपाली टोपी : हाम्रो पहिचान’ नाराका साथ मनाइने यस दिवसमा सामाजिक सञ्जालमा राष्ट्रिय पोशाकको तस्बिर पोष्ट गर्ने, सार्वजनिक स्थानमा पोशाक प्रदर्शन गर्नेजस्ता गतिविधि आयोजना गरिएका छन्।

जनवरी १ तारिखलाई नेपालीपन झल्काउने दिनका रूपमा मनाउन थालेपछि यो दिवस विवाह, व्रतबन्धजस्ता सांस्कृतिक अवसरमा राष्ट्रिय पोशाक लगाउने प्रचलनमा समेत वृद्धि भएको छ। पछिल्लो पुस्ताले पश्चिमेली प्रभावलाई सन्तुलन गर्दै आफ्नो मौलिक पहिचान जोगाउने अभियानमा योगदान पुर्याएको बताइन्छ।

अभियन्ता रामजी बलामीका अनुसार अंग्रेजी नयाँ वर्षलाई नेपाली संस्कृति झल्काउने दिन बनाउन यो दिवसको सुरुआत गरिएको हो। यसले नेपाली पहिचानलाई बलियो बनाउने मात्र होइन, सांस्कृतिक पुनर्जागरणको मार्ग प्रशस्त गरेको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0