पोखरा । ग्रेगोरियन पात्रोअनुसार इस्वी संवत् २०२५ को सुरुवात पोखरामा भव्यताका साथ मनाइएको छ। पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा आयोजित ‘पोखरा सडक महोत्सव’ले नयाँ वर्षको स्वागत गर्यो।
रेष्टुरेण्ट एण्ड बार एशोसिएसन नेपाल (रेबान) पोखराको आयोजनामा भएको महोत्सवमा हजारौँ दर्शक सहभागी भए। मध्यरातमा गरिएको आतिसबाजीले लेकसाइड झन् रोमान्चक बनायो। ‘हृयाप्पी न्यू इयर’का आवाजसँगै झिलिमिली आतिसबाजीले दर्शकलाई मोहित तुल्यायो।
यस विशेष अवसरमा आन्तरिक पर्यटकहरूको भीड उल्लेखनीय थियो। सडक महोत्सवले करिब तीन किलोमिटर क्षेत्रमा सांगीतिक कार्यक्रम र विविध मनोरञ्जन प्रस्तुत गर्यो। अधिकांश होटल भरिभराऊ हुँदा केहीले अग्रिम बुकिङ गरेका थिए भने अन्यले रात बिताउन अन्य विकल्प खोजे।
नयाँ वर्षको यो उत्सव नेपालमा धेरै पर्यटकिय क्षेत्र, विशेषतः पोखरा, काठमाडौँको ठमेल र सौराहामा मनाइने क्रम बढ्दो छ। यस संवत्लाई विदेशी पर्यटकले प्राथमिकता दिएपछि नेपाली पर्यटन क्षेत्रमा यसको प्रभाव झल्किएको छ।






























