काठमाडौं। ग्रेगोरियन पात्रोअनुसार इस्वी संवत् २०२५ आजदेखि प्रारम्भ भएको छ। नयाँ वर्षको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना व्यक्त गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत उनले उदाउँदो सूर्यको तस्बिरसहित ‘सबैको जीवनमा सुन्दर बिहानीको उदय होस्! नयाँ वर्ष सन् २०२५ को हार्दिक शुभकामना!’ भनेर सन्देश दिएका छन्।
इस्वी संवत्को सुरुवात जिजस क्राइस्टलाई फाँसी दिएपछि भएको मानिन्छ। पोप ग्रेगोरियनले जुलियन पात्रो प्रतिस्थापन गरी नयाँ पात्रो ल्याएपछि हालको ग्रेगोरियन पात्रो प्रचलनमा आएको हो। यस कारण यसलाई ग्रेगोरियन पात्रोअनुसारको नयाँ वर्ष भनिन्छ।
जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए। यद्यपि, विवादकै कारण रसियाले यो पात्रो २०० वर्षपछि मात्र प्रयोगमा ल्याएको विश्वास गरिन्छ। उपनिवेशकालका विभिन्न देशहरूले यस संवत्लाई आफ्नो क्षेत्रमा लादेकाले अहिले यसको विश्वव्यापी प्रयोग भएको छ।
नेपालमा पनि पछिल्ला केही वर्षदेखि विशेषगरी पर्यटकीय क्षेत्र र ठूला शहरहरूमा इस्वी संवत् धूमधामका साथ मनाउन थालिएको छ। नयाँ वर्षका अवसरमा शुभकामना आदानप्रदान गर्ने चलनले नेपालमा समेत यसको प्रभाव बढाएको देखिन्छ।
































