राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का दोस्रो तहका नेताहरूले पार्टीका पूर्व महामन्त्री मुकुल ढकाललाई पुरानै जिम्मेवारीमा फर्काउन माग गरेका छन्। कोशीका सभापति राजेश तिम्सिना र मधेशका महामन्त्री तपेश्वर यादवले कार्यवाहक सभापति डीपी अर्याललाई पत्र लेख्दै ढकालको निष्कासनले पार्टी कमजोर भएको निष्कर्षमा पुगेका हुन्।
सभापति तिम्सिनाले ढकाललाई पार्टीबाट निष्कासन गर्ने निर्णयमा गरिएको हस्ताक्षर फिर्ता लिएको जानकारी गराएका छन्। उनले पार्टीलाई एकताबद्ध बनाउन जरुरी रहेको उल्लेख गर्दै पत्रमा भिडन्तबाट भन्दा सहकार्यबाट पार्टीको विकास हुने विचार व्यक्त गरेका छन्।
त्यस्तै, मधेशका महामन्त्री यादवले पनि ढकाललाई हटाउन हस्ताक्षर फिर्ता लिएको जनाएका छन्। उनले पार्टी अहिले सबैभन्दा ठूलो संकटको स्थितिमा रहेको भन्दै आपसी तुष त्यागेर एकजुट भएर अघि बढ्न आह्वान गरेका छन्। यादवका अनुसार राग, द्वेष, र व्यक्तिगत स्वार्थलाई छोडेर विवेकपूर्ण निर्णय आवश्यक छ।
ढकाललाई गत असारमा रास्वपाले पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको थियो। तर, ढकालको अनुपस्थितिले पार्टीभित्र आन्तरिक असन्तोष बढेको र संकट समाधानका लागि उनीलाई पुनः जिम्मेवारी दिनुपर्ने आवाज उठिरहेको छ।



























